पर्सा,५ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगञ्ज महानगरपालिका–१७, अलौ सिवान टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको छ। कार्यक्रममा युवादेखि ज्येष्ठ नागरिकसम्मको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा ८५ वर्षीय जनक साहले उम्मेदवार कानुलाई विजयको आशीर्वाद दिँदै नेतृत्व परिवर्तन आवश्यक भएको धारणा व्यक्त गरे। उनले सामाजिक सुरक्षा भत्ताजस्ता कार्यक्रम सरकारले दिने भएकाले मतदाताले सही र सचेत निर्णय गर्नुपर्ने बताए।
घरदैलोका क्रममा कानुले स्वास्थ्य, शिक्षा, रोजगारी र कृषिमा आधारित स्वरोजगार प्रवर्द्धनलाई आफ्नो प्राथमिक एजेन्डा रहेको उल्लेख गर्दै जनताको आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा सहभागी स्थानीयले “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा लगाउँदै समर्थन व्यक्त गरेका थिए।



