दुई दिने बिदा निर्णयप्रति वीरगन्जका विद्यालय सञ्चालक असन्तुष्ट

spot_img

वीरगन्ज,०४ वैशाख । सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने र शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने निर्णय गरेपछि वीरगन्जका विद्यालय सञ्चालकहरूले आपत्ति जनाएका छन्।

नेशनल प्याब्सन, प्याब्सन र हिसान पर्साका प्रतिनिधिहरूले संयुक्त रूपमा महानगरपालिकालाई बुझाएको अनुरोध पत्रमार्फत यस्तो व्यवस्था लागू हुँदा शैक्षिक क्यालेण्डरमा गम्भीर असर पर्ने बताएका छन्। उनीहरूका अनुसार हप्तामा दुई दिन बिदा हुँदा वर्षमा करिब ४० दिन अतिरिक्त बिदा थपिनेछ, जसले पाठ्यक्रम समयमै पूरा गर्न कठिन बनाउनेछ।

त्यस्तै, शैक्षिक सत्र सुरु हुने मिति वैशाख १ बाट १५ मा सारिँदा विद्यालय व्यवस्थापनमा थप दबाब पर्ने र समग्र शैक्षिक गतिविधि प्रभावित हुने उनीहरूको भनाइ छ। उनीहरूले शिक्षा नियमावलीअनुसार एक शैक्षिक सत्रमा कम्तीमा २२० कार्यदिन आवश्यक हुने व्यवस्था स्मरण गराउँदै वर्तमान निर्णय त्यससँग असंगत भएको बताएका छन्।

विद्यालय सञ्चालकहरूले वैकल्पिक कार्यतालिका पनि प्रस्ताव गरेका छन्। प्रस्तावअनुसार वैशाख ४ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्ने, त्यसपछिका दिनहरूमा शिक्षक प्रशिक्षण, अभिमुखीकरण र तयारी कार्यक्रम सञ्चालन गर्दै वैशाख ९ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने योजना रहेको छ।

स्थानीय तहको अधिकार क्षेत्रभित्र पर्ने शिक्षा व्यवस्थापनलाई ध्यानमा राख्दै महानगरपालिकासँग समन्वय गरेर यथाशीघ्र व्यावहारिक समाधान खोज्नुपर्ने उनीहरूको माग छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय