बारा,२६ वैशाख । बाराको निजगढस्थित एक होटलमा १९ वर्षीया युवती मृत अवस्थामा फेला परेपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार निजगढ नगरपालिका–१२ कोलगाउँ निवासी सीता थिङ गुरुङ होटलमा एक युवकसँग बसेकी थिइन्। उनलाई राति करिब ११ बजे उपचारका लागि निजगढ सामुदायिक अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरेको छ। मृतकको शव हाल पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ।
घटनापछि होटलमा रहेका दुई पुरुष र एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ। पक्राउ परेकाहरूको परिचय भने हाल सार्वजनिक गरिएको छैन।
प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन थप अनुसन्धान जारी रहेको जनाएको छ।




