सुनसरी,२१ साउन । भारतीय सीमावर्ती क्षेत्र हुँदै नेपाल भित्र्याइएको नक्कली नेपाली नोटसहित दुई जना पक्राउ परेका छन्। सुनसरी प्रहरीले मंगलबार साँझ सीमाक्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र वडा नम्बर १ का २५ वर्षीय राजेश चमार रजक रहेका छन्।
दुवै जना लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए। पछाडि बसेका राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ वटा नक्कली नोट फेला परेको सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए।
हाल दुवैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ। प्रहरीले उनीहरू नक्कली नोट कारोबारमा संलग्न गिरोहसँग आवद्ध हुन सक्ने आशंका गर्दै थप व्यक्तिहरूको खोजी गरिरहेको छ।
सुनसरी क्षेत्रमा पछिल्ला वर्षहरूमा पटक–पटक नक्कली नोट फेला परे पनि प्रहरी मुख्य गिरोहसम्म पुग्न अझै सफल भएको छैन।

