बीरगन्जमा हैजाको प्रकोप : ९३ जनामा सङ्क्रमण पुष्टि, सतर्क रहन आग्रह

spot_img

बीरगन्ज,१० भदौ । पर्साको बीरगन्ज महानगरपालिका क्षेत्रमा हैजाको प्रकोप तीव्र गतिमा फैलिएको छ। पछिल्लो तथ्याङ्कअनुसार, विभिन्न अस्पताल र स्वास्थ्य संस्थाहरूमा गरिएको परीक्षणमा हालसम्म ९३ जनामा हैजा (कोलेरा) को सङ्क्रमण पुष्टि भएको छ।

बीरगन्ज महानगरको स्वास्थ्य शाखाले सोमबार बेलुका ६ बजे सार्वजनिक गरेको विवरणअनुसार, सबैभन्दा बढी संक्रमितहरू नारायणी अस्पताल र तराई अस्पतालमा भेटिएका छन्, जहाँ दुवै अस्पतालमा ३२–३२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

यसैगरी, अन्य अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि हैजाका बिरामीहरू फेला परेका छन्। नेशनल मेडिकल कलेजमा १२ जना, भवानी अस्पताल र वीरगन्ज हेल्थ केयरमा ३–३ जना, अली अर्था अस्पतालमा २ जना, र मङ्गलम प्याथोलोजीमा ३ जना संक्रमित भेटिएका छन्। यसबाहेक, नारायणी सेन्ट्रल अस्पताल, एडभान्स मेडिकेयर अस्पताल, नेपाल इन्डो अस्पताल, नीलकण्ठ अस्पताल, नेपाल मेडिसिटी वायोधा अस्पताल, र सर्वोत्तम अस्पतालमा पनि एक–एक जनामा हैजा पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूले वीरगन्ज क्षेत्रमा हैजाको सङ्क्रमण फैलिएको भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। प्रकोप नियन्त्रणका लागि महानगरपालिका र सम्बन्धित निकायहरूले पानी शुद्धीकरण, सरसफाइ, र स्वास्थ्य सचेतनामूलक अभियानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

यस प्रकोपबाट बच्नका लागि सबैले उमालेको पानी मात्र पिउने, खाना खानुअघि र शौचालय प्रयोग गरेपछि साबुनपानीले हात धुने, र खुला ठाउँमा राखिएका वा बासी खानेकुरा नखाने जस्ता सावधानीहरू अपनाउनुपर्ने स्वास्थ्यकर्मीहरूले बताएका छन्। यदि कसैलाई हैजाका लक्षणहरू (पातलो दिसा, बान्ता, वा शरीर कमजोर हुनु) देखिएमा, तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि आग्रह गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय