वीरगन्ज,२९ फागुन । पर्साको ठोरी गाउँपालिका हाल मानव–वन्यजन्तु द्वन्द्वको केन्द्र बन्दै गएको छ। यहाँ जंगली हात्ती र बाघको गतिविधि तीव्र बढेपछि स्थानीयवासीहरु त्रसित भएका छन्।
ठोरी–२ हनुमाननगर क्षेत्रमा पछिल्ला दिनहरूमा जंगली हात्ती प्रायः रातको समयमा मानव बस्ती नजिक देखिन थालेको छ। स्थानीय चिरञ्जीवी सापकोटाका अनुसार, ‘अहिले बालीको मौसम नभए पनि हात्ती बस्ती नजिकै देखिन थालेको छ। बालीको समयमा आए भने ठूलो क्षति हुने निश्चित छ।’
ठोरी क्षेत्र भौगोलिक रूपमा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज र भारतको वाल्मीकि टाइगर रिजर्भले चारैतिर घेरिएको छ। यस कारण यहाँ वन्यजन्तुको आवागमन प्रायः हुने गर्दछ। हात्ती मात्र होइन, चित्तल, बँदेल, नीलगाई लगायतका जनावरले किसानको धान, मकै र अन्य बालीमा हरेक वर्ष क्षति पुर्याउने गरेका छन्।
यस्तै, ठोरी–१ गौतमनगर पूर्व हुलाकी सडक आसपास पछिल्लो एक महिनादेखि बाघको गतिविधि पनि बढेको छ। स्थानीयले जडान गरेको सीसीटीभी क्यामेरामा बाघ आवतजावत गरेको दृश्य कैद भएको छ। यसपछि साँझपख घरबाहिर निस्कन पनि स्थानीय डराउने भएका छन्। बालबालिका र घरपालुवा जनावरको सुरक्षा प्रमुख चिन्ताको विषय बनेको छ।
स्थानीयले समयमै उचित व्यवस्थापन नभए मानव–वन्यजन्तु द्वन्द्व अझ बढ्ने खतरा रहेको बताउँछन्। अहिले हात्ती र बाघ दुवै सक्रिय भएपछि ठोरीका बासिन्दा सधैं त्रासको वातावरणमा बस्न बाध्य भएका छन्।




