वीरगन्ज,२९ फागुन । राहदानी (पासपोर्ट) सेवा केही समयका लागि प्रभावित हुन सक्ने भएको छ। राहदानी विभागले सूचना जारी गर्दै करिब १ देखि ३ हप्तासम्म जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने पासपोर्ट सेवा बन्द हुन सक्ने जनाएको छ।
विभागका अनुसार राहदानी विभागबाट प्रत्यक्ष रूपमा प्रदान गरिने सेवा पनि करिब एक हप्तासम्म अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ।
नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणालीमार्फत राहदानी जारी गर्ने तयारी भइरहेको विभागले जनाएको छ। सोही प्रक्रियाअन्तर्गत राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतका आवश्यक पूर्वतयारी पूरा भइसकेको र अबको एक–दुई महिनाभित्र हाल प्रयोगमा रहेको प्रणालीबाट नयाँ प्रणालीमा रूपान्तरण गरिने विभागले जानकारी दिएको छ।
यस परिवर्तनको क्रममा अन्तरिम अवस्थासम्म प्रणाली पूर्ण रूपमा स्थिर नभएसम्म सेवा प्रभावित हुन सक्ने बताइएको छ। नयाँ प्रणाली लागू भएपछि प्रणाली स्थिर हुन करिब १ देखि ३ महिना लाग्न सक्ने भएकाले उक्त अवधिमा जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिएपछि राहदानी तयार भई जारी हुन अहिलेको तुलनामा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।
त्यसैले आगामी ६ महिनाभित्र अर्थात् २०८३ साल असोजभित्र राहदानी आवश्यक पर्ने सेवाग्राहीलाई अन्तरिम अवस्था सुरु हुनु अघि नै सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालय, विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन विभागले अनुरोध गरेको छ। नयाँ प्रणाली सुरु हुने मिति तथा त्यस अवधिमा अपनाइने व्यवस्थाबारे थप जानकारी अर्को सूचनामार्फत सार्वजनिक गरिने विभागले जनाएको छ।




