काठमाडौँ,०१ असाेज । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा सर्वोच्च अदालतको आदेशपछि पुनः आफ्नो जिम्मेवारीमा फर्किएका छन्। सरकारको बर्खास्ती निर्णयविरुद्ध दायर गरिएको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि मंगलबारदेखि उनले नियमित काम सुरु गरेका हुन्।
सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गर्दै ओझालाई बर्खास्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न र नयाँ अध्यक्ष नियुक्ति प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ। साथै दुवै पक्षलाई छलफलका लागि अदालतले बोलाएको छ।
२ भदौको मन्त्रिपरिषद् बैठकले ओझालाई खराब आचरण र कार्यक्षमताको कमी देखाउँदै पदमुक्त गर्ने निर्णय गरेको थियो। यसअघि ३० असारमा छानबिन समिति गठन गरी प्रतिवेदन आएको आधारमा उनलाई अयोग्य ठहर गरिएको थियो।
तर, ओझाले २२ भदौमा सर्वोच्चमा रिट दायर गर्दै बर्खास्ती निर्णयविरुद्ध चुनौती दिएका थिए। २३ भदौमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश जारी गरेको हो।
यसबीच सरकारले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तिका लागि प्रक्रिया अघि बढाइसकेको थियो। सो क्रममा १४ जनाले आवेदन समेत दिएका छन्। तर अदालतको आदेशपछि नियुक्ति प्रक्रिया रोकिएको छ।

