काठमाडौं,२६ फागुन । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट देखिएको छ। पछिल्लो कारोबारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९२.५० अमेरिकी डलरमा झरेको छ। त्यस्तै, अमेरिकामा कारोबार हुने डब्लुटिआई कच्चा तेलको मूल्य पनि झन्डै ९ प्रतिशतले घटेर प्रति ब्यारेल ८८.६० अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै अन्त्य हुन सक्ने संकेत गरेपछि विश्व बजारमा तेलको मूल्य घटेको बीबीसीले उल्लेख गरेको छ। ट्रम्पले मध्यपूर्वको बढ्दो तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेको र त्यसपछि युद्ध चाँडै समाप्त हुने आशा व्यक्त गरेका थिए। यद्यपि केही समयपछि युद्ध तत्कालै अन्त्य नहुने भनाइ पनि सार्वजनिक भएको थियो।
यसैबीच, ट्रम्पले इरानले होर्मुज स्ट्रेटमार्फत हुने तेल ढुवानीमा अवरोध सिर्जना गरे कडा कदम चालिने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत उनले यस्तो चेतावनी दिएका हुन्। ट्रम्पका अनुसार यदि इरानले स्ट्रेट अफ होर्मुजमा तेल ढुवानी रोक्ने प्रयास गरे अमेरिकाले अहिलेसम्म गरेको आक्रमणभन्दा २० गुणा शक्तिशाली कारबाही गर्न सक्छ। बीबीसीका अनुसार विश्वभर ढुवानी हुने करिब २० प्रतिशत तेल यही समुद्री मार्गबाट जाने गर्दछ।
हाल इजरायल–इरानबीचको द्वन्द्वका कारण उक्त समुद्री मार्गमा जहाज आवतजावत कम भएको छ। यसको असर विश्व बजारमा तेलको मूल्यमा उतारचढावका रूपमा देखिँदै आएको छ। ट्रम्पले इरानका सहजै नष्ट गर्न सकिने लक्ष्यहरूमा पनि कारबाही गर्न सकिने चेतावनी दिँदै त्यसले इरानलाई ठूलो क्षति पुग्ने बताएका छन्। तर उनले यस्तो अवस्था आउनु नपरोस् भन्ने आशा र कामना पनि व्यक्त गरेका छन्।

