राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा आगलागी, डेन्टल ओपिडीमा २५ लाखभन्दा बढी क्षति

spot_img

राजविराज,२६ फागुन । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको डेन्टल (दन्तरोग) शाखाअन्तर्गत बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन हुने भवनमा सोमबार आगलागी हुँदा करिब २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

अस्पतालका अनुसार विद्युत् सर्ट भएर सल्किएको आगोले डेन्टल ओपिडी तथा रेकर्ड कक्षमा रहेका महत्त्वपूर्ण उपकरण र कागजातहरू जलेर नष्ट भएका छन्। डेन्टल विभागकी चिकित्सक डा. दिपाली झाले बिरामीको उपचार भइरहेको समयमा डेन्टल उपकरणको कम्प्रेसरमा एक्कासी विद्युत् सर्ट हुँदा आगो लागेको बताइन्।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अवधेशकुमार मिश्राका अनुसार आगलागीबाट तीन वटा डेन्टल सेट, दुई वटा कम्प्रेसर, तीन वटा विशेष डेन्टल कुर्सी, दुई वटा डेस्क, एक फ्रिज र सात वटा पंखा पूर्ण रूपमा नष्ट भएका छन्। साथै ओपिडीका पुराना रेकर्ड र महत्वपूर्ण प्रशासनिक कागजातहरू पनि जलेर नष्ट भएका छन्।

आगो लागेपछि अस्पताल क्षेत्रमा केही समय अफरातफरी मच्चिए पनि सुरक्षाकर्मी र स्थानीयको सक्रियताले मानवीय क्षति हुन पाएन। जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले स्थानीय बासिन्दा तथा राजविराज नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो।

घटनाबारे जानकारी पाएलगत्तै सप्तरी क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रामजी यादव अस्पताल पुगेर क्षतिको विवरण लिएका छन्। उनले सेवा प्रवाह पुनः सुचारु गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएका छन्। आगलागीका कारण केही समयका लागि डेन्टल सेवा प्रभावित हुने अस्पतालले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय