काठमाडौं,१४ असोज । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी जार युनिटी कप टी–२० शृङ्खलाको फाइनलमा आज नेपाल र वेस्ट इन्डिज आमनेसामने हुँदैछन्। नेपालले दुई खेलमै जित दर्ता गर्दै उपाधि सुरक्षित गरिसकेकाले अब लक्ष्य ‘क्लिन स्वीप’ गर्ने रहेको छ।
शारजाह क्रिकेट मैदानमा सोमबार राति भएको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै २–० को अग्रता बनाएको थियो। नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटियो।
नेपालका लागि मोहम्मद आदिल आलम चम्किए। उनले चार विकेट हात पारे भने कुशल भुर्तेलले तीन विकेट, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनको चुनौती दिएको थियो।
बल्लिङपछि ब्याटिङमा पनि नेपाली खेलाडी उत्कृष्ट देखिए। ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन बनाए भने सन्दीप जोराले ३९ बलमा ६३ रनको योगदान गरे।
वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान दुई–दुई विकेट लिए। तर ब्याटिङमा टोली धरासायी भयो। जेसन होल्डरले २१ रन, एकिम अगस्टले १७ र अमिर जांगोले १६ रन मात्रै जोडे।
लगातार दुई खेलमा जित निकालिसकेको नेपाल आज राति ८:१५ बजे हुने फाइनल भिडन्तमा उत्साहका साथ मैदानमा उत्रिनेछ। वेस्ट इन्डिज भने सिरिज गुमाइसके पनि सान्त्वना जितका लागि संघर्ष गर्नेछ।



