काठमाडौ,१६ असोज । नेपाल र मलेसियाबीचको पाँच खेलको महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज आजदेखि सुरु हुँदैछ। पहिलो खेल मलेसियाको क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा नेपाली समय अनुसार दिउँसो ११:४५ बजे सुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
यस सिरिजका लागि नेपालले १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा पाँच खेलाडी परिवर्तन गरिएको छ भने सिनियर खेलाडी सीता राना मगर पुनः राष्ट्रिय टिममा फर्किएकी छिन्। उनीसँगै सोमु विष्ट, रचना चौधरी, यशोदा विष्ट र सावित्री धामी पनि समावेश भएका छन्। यसपटक ईश्वरी विष्ट, सबनम राई, बिन्दु रावल, रोमा थापा र मनिषा उपाध्याय भने टोलीमा स्थान बनाउन असफल भए।
सिरिजअघिको तयारीका क्रममा नेपाली खेलाडीहरूले मलेसियन सुपर वुमन सिरिज खेलेका थिए। उक्त प्रतियोगितामा रुविना क्षेत्री, सोनु विष्ट र पूजा महतो सम्मिलित साउदर्न जाग्वार्स विजेता बने भने सीता राना मगरको कप्तानीमा रहेको सेन्ट्रल सुपर गर्ल्स उपविजेता बनेको थियो। नेपाली उपकप्तान पूजा महतो प्लेयर अफ द सिरिज घोषित भएकी थिइन् भने कविता कुँवर उत्कृष्ट ब्याटर घोषित भएकी थिइन्।
१४ खेलाडीले सो प्रतियोगितामा विभिन्न टोलीबाट खेलेर अनुभव हासिल गरेका कारण यस सिरिजमा नेपालबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ।
मलेसिया भ्रमणलाई नेपाली टोलीले आगामी जनवरीमा स्वदेशमै हुने महिला टी–२० विश्वकप ग्लोबल छनोट का लागि महत्त्वपूर्ण तयारीको रूपमा लिएको छ।

