रौतहट,१७ मंसिर । रौतहटको सदरमुकाम गौर–चपुर सडकखण्ड अन्तर्गत शुकदेव चौक र जयनगरको बिच भागमा आज दिउँसो भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् । चपुरबाट गौरतर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ह १०७४ नम्बरको इ–रिक्सा र विपरीत दिशाबाट आइरहेको विआर ०६ जिजी ५४०४ नम्बरको पिकअप एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी बिष्णु प्रदीप बस्यालका अनुसार दुर्घटनामा परी घाइतेहुनेमा यमुनामाई–४ ३४ वर्षीय इ–रिक्सा चालक जनसेद आलम छन् । यस्तै दुर्घटनामा सर्लाहीको बरहथवा–२ की रिन्कु बैठा, उनकी छोरी अनुश्का बैठा र अन्निया बैठा, छोरा आयुष बैठा, रोमन बैठा र माधवनरायण–सखुवबा निवासी बर्ष २० को राम विश्वास बैठा पनि घाइते भएका छन् ।
दुर्घटनापछि पिकअप चालक सन्तोष कुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गरुडातर्फ पठाएको जनाएको छ ।

