बीरगन्ज,०६ माघ । नेपाली कांग्रेसका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा अनिल रूङटा र क्षेत्र नम्बर २ मा अजयकुमार चौरसियाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार बीरगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै नेताले मनोनयन पत्र दर्ता गराएका हुन्। मनोनयन दर्ताका क्रममा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरूको ठूलो जुलुससहित उत्साहपूर्ण उपस्थिति देखिएको थियो।
व्यावसायिक पृष्ठभूमिका अनिल रूङटा दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक प्रणालीमार्फत सांसद निर्वाचित भएका थिए। २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी पर्सा–१ बाट तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार प्रदीप यादवसँग पराजित भएका थिए। पछिल्लो निर्वाचनमा समानुपातिक सूचीमा सिफारिस भए पनि संसद् प्रवेश गर्न सकेका थिएनन्।
पर्सा–२ बाट उम्मेदवारी दिएका अजयकुमार चौरसिया यसअघि सोही क्षेत्रबाट निर्वाचित सांसद हुन्। पूर्वकानुनमन्त्रीसमेत रहेका चौरसिया यो निर्वाचनसहित पाँचौँ पटक संसदीय चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।
मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै अनिल रूङटाले पर्सा–१ को विकास, अमन–शान्ति र देशको समृद्धिका लागि आफूले उम्मेदवारी दिएको बताए। नेपाली कांग्रेस एकताबद्ध भएर अघि बढिरहेको दाबी गर्दै उनले नयाँ पुस्ताको नेतृत्वमा पार्टी भएकाले पर्सासहित देशभर कांग्रेसका उम्मेदवारले जनताको समर्थन पाउने विश्वास व्यक्त गरे।
त्यस्तै अजयकुमार चौरसियाले लोकतान्त्रिक व्यवस्थामाथि चुनौती बढिरहेको वर्तमान अवस्थामा पाँच दशकदेखि लोकतन्त्रका लागि संघर्ष गर्दै आएको नेपाली कांग्रेसले व्यवस्था जोगाउन र चुनौती दिने शक्तिहरूलाई परास्त गर्नुपर्ने आवश्यकता औँल्याए। उनले आफ्नो निर्वाचन क्षेत्रमा वृद्धाश्रम र पोलिटेक्निक शैक्षिक संस्था स्थापना गर्ने लक्ष्य रहेको पनि बताए।
नेपाली कांग्रेसले देशका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको अवस्थामा पर्साका दुवै क्षेत्रमा औपचारिक रूपमा मनोनयन दर्ता भएसँगै जिल्लामा चुनावी सरगर्मी थप बढेको छ।



