काठमाडाैं,१७ माघ । पछिल्लो एक हप्तादेखि भारतबाट आवश्यक परिमाणमा एलपी ग्यास आयात हुन नसक्दा नेपाली बजारमा ग्यासको आपूर्ति असहज भएको छ। यसले उपभोक्तालाई ग्यास अभाव भोग्न बाध्य बनाएको छ।
नेपाल आयल निगमका अनुसार, सबैभन्दा धेरै ग्यास आपूर्ति हुने इन्डियन आयल कर्पोरेसन (आईओसी)को बरौनी रिफाइनरी मर्मतमा रहेकाले कोटा अनुसार ग्यास लोड हुन सकिरहेको छैन। निगमले मुख्य रूपमा बरौनी, मथुरा, पारादीप र दुर्गापुर रिफाइनरीबाट ग्यास आयात हुँदै आएको बताएको छ। मथुरा रिफाइनरीबाट नियमित रूपमा आपूर्ति भइरहेको भए पनि बरौनी रिफाइनरीमा पुरानो प्लान्ट भएकाले दुई–चार दिनसम्म ग्यास लोड हुन नसक्ने समस्या बारम्बार देखिन्छ।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले पनि बरौनीबाट सीमित मात्रमा ग्यास आइरहेको स्वीकार गर्दै भने, “पारादीप र दुर्गापुरबाट पनि अपेक्षाभन्दा कम आपूर्ति भइरहेको छ। जाडो महिनामा भारतमा खपत बढ्ने भएकाले आईओसीले पहिले आफ्नै माग पूरा गर्छ र त्यसपछि मात्र नेपालतर्फ आपूर्ति गर्छ। यही कारणले समस्या बढेको हो।”
चन्दका अनुसार, नेपालमा मासिक ग्यास आवश्यकताः करिब ४७–४८ हजार मेट्रिक टन हो, तर चालु महिनामा मात्र ४२–४३ हजार मेट्रिक टन आयात हुने अनुमान छ। यसको अर्थ चार–पाँच हजार मेट्रिक टन ग्यास कम हुँदा बजारमा अभाव देखिएको हो।
बरौनीबाट ग्यास नपाउँदा पारादीप जस्ता टाढाका रिफाइनरीसम्म गाडी पठाउनुपर्ने र ढुवानीका साधन सीमित हुने समस्या पनि देखा परेको छ। यसले लोडिङमा ढिलाइ गरिरहेको छ। नेपाल आयल निगमका अनुसार, उपलब्ध गाडी प्रयोग गरी ग्यास ल्याउने प्रयास तीव्र पारिएको छ र एक–डेढ हप्ताभित्र आपूर्ति क्रमशः सामान्य अवस्थामा फर्किने विश्वास व्यक्त गरिएको छ।

