नयाँ सम्झौतापछि अमेरिकामा टिकटक सञ्चालन निरन्तर हुने

spot_img

काठमाडौँ,०९ माघ । अमेरिकामा प्रतिबन्धको जोखिममा परेको लोकप्रिय सामाजिक सञ्जाल टिकटक नयाँ सम्झौतामार्फत निरन्तर सञ्चालनमा रहने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशअनुसार टिकटकले अमेरिकाभित्र आफ्नो सेवा सञ्चालन गर्न छुट्टै नयाँ कम्पनी स्थापना गरेको छ, जसमा बहुमत स्वामित्व अमेरिकी लगानीकर्ताहरूको रहने बीबीसीले जनाएको छ।

नयाँ सम्झौताअनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सको स्वामित्व १९.९ प्रतिशतमा सीमित गरिएको छ भने बाँकी सेयर अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले लिने व्यवस्था गरिएको छ। यससँगै टिकटकले अमेरिकी प्रयोगकर्ताको व्यक्तिगत डेटा कसरी सुरक्षित गरिन्छ भन्ने विषयमा पहिलोपटक विस्तृत जानकारी सार्वजनिक गरेको छ।

सम्झौताअनुसार अब अमेरिकाका टिकटक प्रयोगकर्ताको सम्पूर्ण डेटा अमेरिकामै अवस्थित सुरक्षित क्लाउड प्रणालीमा भण्डारण गरिनेछ। साथै, चीनमा रहेका प्राविधिक कर्मचारीहरूलाई टिकटक अमेरिकाको दैनिक सञ्चालनमा प्रत्यक्ष पहुँच नदिइने व्यवस्था गरिएको छ।

यो नयाँ संरचना टिकटकमा मात्र सीमित नरही बाइटडान्सका अन्य भिडियो सम्पादन तथा सामाजिक सञ्जालसम्बन्धी एपहरूमा समेत लागू हुने बताइएको छ। यद्यपि केही अमेरिकी राष्ट्रिय सुरक्षा विज्ञहरूले यो सम्झौता सन् २०२४ मा पारित राष्ट्रिय सुरक्षा कानूनको मर्मसँग पूर्ण रूपमा मेल नखाने भन्दै आलोचना गरेका छन्। यस सम्झौतापछि अमेरिकामा रहेका २० करोडभन्दा बढी टिकटक प्रयोगकर्ता तथा लाखौँ व्यवसायले टिकटक प्रयोग गर्न निरन्तर अवसर पाउने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय