काठमाडौँ,२८ चैत । सरकारले सेवा प्रवाहलाई सहज र नागरिकमैत्री बनाउने उद्देश्यसहित ‘ई–पेन्सन प्रमाणीकरण प्रणाली’ लागू गरेको छ। यससँगै अब निवृत्तिभरण लिने सेवाग्राहीहरूले घरमै बसेर अनलाइनमार्फत सेवा लिन सक्ने भएका छन्।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले महालेखा नियन्त्रक कार्यालयद्वारा विकसित उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्। नयाँ व्यवस्थाअनुसार निजामती कर्मचारी, शिक्षक, नेपाली सेना तथा प्रहरीका अवकाशप्राप्त सेवाग्राहीहरूले वेबसाइटमार्फत आफ्ना विवरण प्रमाणीकरण, जानकारी प्राप्त तथा आवश्यक प्रक्रिया पूरा गर्न सक्नेछन्।
यसअघि प्रत्येक वर्ष पेन्सन पाइरहेको प्रमाणित गर्न बैंकमा अनिवार्य उपस्थित हुनुपर्ने झन्झट अब हटेको छ। साथै, पेन्सन खाता खोल्न वा बैंक छनोट गर्न कार्यालय धाउनुपर्ने बाध्यता पनि अन्त्य भएको छ।
प्रणालीमा सेवाग्राहीलाई सहजीकरण गर्न भिडियो मार्गदर्शनसमेत उपलब्ध गराइएको छ। हाल करिब साढे ३ लाख सेवाग्राही यस प्रणालीमा आबद्ध रहेको जनाइएको छ।
सरकारका अनुसार नयाँ प्रणाली लागू भएसँगै बैंकलाई तिर्नुपर्ने वार्षिक करिब १५ करोड रुपैयाँ बराबरको कमिसन घट्ने, नगद प्रवाह व्यवस्थापन सहज हुने तथा सरकारी खर्चमा पनि नियन्त्रण आउने अपेक्षा गरिएको छ।

