वडा–वडामा ओली, जेनजी र विदेशिएका नेपालीमा बालेनको नजर

spot_img

काठमाडाैं,१० माघ । झापा–५ प्रतिनिधिसभा निर्वाचन यसपटक देशकै सबैभन्दा बढी चासोको केन्द्र बनेको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह मैदानमा उत्रिएपछि यो निर्वाचन सामान्य प्रतिस्पर्धा मात्र नभई प्रतिष्ठाको लडाइँका रूपमा हेरिन थालेको छ । दुवै दलले भावी प्रधानमन्त्रीका उम्मेदवारको रूपमा अघि सारेका नेताबीचको टक्करले झापालाई राष्ट्रिय ध्यानको केन्द्रमा ल्याएको हो ।

एमाले अध्यक्ष ओली यसपटक निर्वाचन क्षेत्रमा अघिल्ला चुनावभन्दा बढी समय खर्चिने तयारीमा छन् । विगतमा मनोनयनपछि देशव्यापी कार्यक्रममा सक्रिय हुने ओली अहिले भने आफ्नै क्षेत्रमा देखिएका असन्तुष्ट कार्यकर्ता र मतदाता फकाउने रणनीतिमा केन्द्रित छन् । एमाले झापाका सचिव तुलसी कार्कीका अनुसार ओलीले क्षेत्रका सबै २९ वटै वडामा पुगेर कार्यकर्ता र स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्ने तालिका बनाएका छन् ।

राप्रपासँग औपचारिक गठबन्धन नभए पनि उनीहरूको मतसमेत तान्ने ओलीको प्रयास देखिन्छ । ‘जेनजी’ आन्दोलनका क्रममा क्षति पुगेका संरचना र दमकका मेयर राम थापाको घरसम्म पुगेर ओलीले स्थानीय भावना बुझ्ने प्रयास गरेका थिए । कांग्रेसले तुलनात्मक रूपमा कमजोर उम्मेदवार उठाएको आँकलनसहित ओली र बालेन दुवैको नजर कांग्रेसको परम्परागत मततर्फ पनि परेको छ ।

यता, रास्वपाका वरिष्ठ नेता बालेन शाह मनोनयन दर्तापछि पूर्वी नेपाल केन्द्रित धार्मिक र राजनीतिक भ्रमणमा छन् । दमकमा कार्यकर्तासँग भेटघाट गरेपछि उनी पाथीभरा र म्याङ्लुङ देवीको दर्शनमा पुगेका छन् । बालेनको चुनावी कमान्ड पूर्व सशस्त्र प्रहरी एसपी भरतबहादुर कार्कीले सम्हालेका छन् भने काठमाडौंबाट आएको छुट्टै टिमले रणनीतिक सहयोग गरिरहेको छ ।

बालेनको मुख्य रणनीति युवा परिचालनमा आधारित छ । युवामार्फत घरका ज्येष्ठ सदस्यसम्म प्रभाव पार्ने, विशेष गरी विदेशमा रहेका छोराछोरीको माध्यमबाट अभिभावकलाई ‘घन्टी’ मा मतदान गर्न प्रेरित गर्ने डिजिटल अभियानसमेत सञ्चालन गरिएको छ । एमालेका केही प्रभावशाली नेताको कार्यशैलीप्रति असन्तुष्ट तल्लो तहका कार्यकर्ता र मतदातालाई वैकल्पिक नेतृत्वको रूपमा आफूलाई प्रस्तुत गर्न बालेन सक्रिय छन् ।

स्थानीय मतदाताहरूका अनुसार ओलीले विगतमा विकासका काम गरे पनि उनको वरपरको नेतृत्वको व्यवहारले असन्तुष्टि बढाएको छ । त्यसैलाई आधार बनाएर बालेनको टोलीले असन्तुष्ट मतदातालाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको छ ।

ओली र बालेन दुवैले झापा–५ का सबै २९ वटै वडामा पुग्ने तयारी गरेका छन् । एमाले पुरानो संगठन र विरासत जोगाउने कसरतमा छ भने बालेन नयाँ पुस्ता र परिवर्तनको एजेन्डासहित मैदानमा उत्रिएका छन् ।
झापा–५ मा ८१ हजार ८१ पुरुष, ८२ हजार २९६ महिला र अन्य दुई गरी कूल १ लाख ६३ हजार ३७९ मतदाता छन् । अन्ततः यो प्रतिष्ठाको भिडन्तको नतिजा फागुन २१ गते मतपेटिकाबाटै तय हुनेछ ।

spot_img

ताजा अपडेट

लोकप्रिय