काठमाडौं,१० माघ । भारतमा आयोजना हुने टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुने निर्णयले देशको क्रिकेटमा ठूलो आर्थिक क्षति हुने अनुमान गरिएको छ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र देशको अन्तरिम सरकारसँग पटक–पटक छलफल गरेपछि प्रतियोगितामा नजाने निर्णय गरेको हो। बोर्डले अझै प्रयास जारी रहेको जनाएको भए पनि विश्वकप सुरु हुन अब दुई हप्ता मात्र बाँकी रहेकाले सहभागिताको सम्भावना कमजोर बन्दै गएको छ। आईसीसीले प्रतियोगिताको तय कार्यक्रम परिवर्तन गर्न नसकिने संकेत पनि दिएको छ।
आईसीसीद्वारा आयोजना गरिने यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरू क्रिकेट बोर्ड र खेलाडीका लागि आम्दानीको मुख्य स्रोत मानिन्छ। टी–२० विश्वकपमा बंगलादेश सहभागी नहुँदा मात्र होइन, देशका क्रिकेटर, प्रायोजक, मैदान व्यवस्थापनकर्ता र सम्बन्धित अन्य पक्षहरूलाई पनि ठूलो आर्थिक घाटा हुने देखिएको छ।
विशेषज्ञहरूका अनुसार बंगलादेशको अनुपस्थिति खेलको लोकप्रियता र अन्तर्राष्ट्रिय व्यापारिक साझेदारीमा पनि असर पार्न सक्छ। यसले देशको क्रिकेट उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाखौं डलरको असर पुर्याउने अनुमान गरिएको छ।

