काठमाडाै,११ माघ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रिया तीव्र पार्ने प्रतिबद्धता दोहोर्याएका छन्।
शनिबार बीएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैंले रेकर्ड गरेको भिडियो सन्देशमा राष्ट्रपति म्याक्रोँले सरकारले द्रुत कानुनी प्रक्रिया अपनाउन निर्देशन दिइसकेको बताए। उनले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र, अर्थात् सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखिएको जानकारी दिए।
यससम्बन्धी विधेयकमाथि हाल फ्रान्सेली संसदमा छलफल भइरहेको छ। विधेयकको मस्यौदा सोमबार संसदमा औपचारिक रूपमा प्रस्तुत गरिनेछ।
यसअघि अस्ट्रेलियाले इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय तथा लत लाग्ने सामाजिक सञ्जाल प्लेटफर्महरू १६ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउँदै यस्तो कदम चाल्ने पहिलो देश बनेको थियो।
सामाजिक सञ्जाल प्रतिबन्धसँगै राष्ट्रपति म्याक्रोँले विद्यालयमा विद्यार्थीहरूलाई मोबाइल फोन राख्न नदिने प्रस्तावको पनि समर्थन गरेका छन्।
“हाम्रा बालबालिका र किशोरकिशोरीको दिमाग बेच्न वा नियन्त्रण गर्नका लागि होइन। न त उनीहरू अमेरिकी प्लेटफर्मले चलाउने हुन्, न त चिनियाँ अल्गोरिदमले निर्देशन दिने,” राष्ट्रपति म्याक्रोँले भने।

