सर्लाही,११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ । साथै थप २२ जनालाई संक्रमणको सम्भावना रहकाेले उनीहरूको घरमै स्वास्थ्यकर्मीहरूले निगरानी थालेका छन्।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले दादुरा तीव्र गतिमा फैलने संक्रामक रोग भएको बताएकाछन् र मलङ्गवावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकाछन्।
उनले भने “हामीले बिरामी फेला परेका क्षेत्रहरूमा निगरानी बढाएका छौं र समुदायमा संक्रमण फैलिन नदिन सक्रिय काम गरीरहेकाछाैँ”
दादुराको प्रकोप नियन्त्रण गर्न र बालबालिकालाई सुरक्षित राख्न मलङ्गवा नगरपालिकाले माघ १२ देखि १६ गतेसम्म विशेष खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानअन्तर्गत नगरपालिकाका वडा नं. २, ३, ४, ८, ९ र १० का ६ महिनादेखि १४ वर्षसम्मका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइने छ।
नगरपालिकाको स्वास्थ्य शाखाले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको खोप केन्द्रमा लगेर अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ। स्वास्थ्य विज्ञहरूले समयमै खोप लगाउनु नै दादुरा जस्तो जोखिमपूर्ण रोगबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्।



