काठमाडौँ,११ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उत्तरी छिमेकी क्यानडालाई चेतावनी दिँदै चीनसँग व्यापारिक सम्झौता गरेमा क्यानडाली उत्पादनमा १०० प्रतिशत अतिरिक्त कर (ट्यारिफ) लगाइने घोषणा गरेका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी लाई सम्बोधन गर्दै भने, “यदि प्रधानमन्त्री कार्नीले क्यानडालाई चिनियाँ सामान अमेरिका पठाउने ‘ड्रप अफ पोर्ट’ बनाउन चाहनुहुन्छ भने उहाँ गलत हुनुहुन्छ। चीनले क्यानडाको व्यवसाय र जीवनशैली अस्तव्यस्त बनाउनेछ। सम्झौता भए वासिङ्टनले तुरुन्तै १०० प्रतिशत कर वृद्धि गर्नेछ।”
यो विवाद प्रधानमन्त्री कार्नीको हालैको चीन भ्रमण पछि सुरु भएको हो। उक्त भ्रमणमा क्यानडाले चिनियाँ इलेक्ट्रिक गाडीमा लगाउँदै आएको १०० प्रतिशत कर ६.१ प्रतिशत मा झारेको थियो, बदलामा चीनले क्यानडाली कृषि उत्पादनमा लगाउँदै आएको ८४ प्रतिशत कर १५ प्रतिशत मा झारेको थियो। अमेरिकी व्यापार प्रतिबन्धका बीच क्यानडाको यो कदमले ट्रम्पलाई क्रोधित बनाएको हो।
विश्व आर्थिक मञ्च (डाभोस, स्विट्जरल्याण्ड) मा कार्नीले “अमेरिकी नेतृत्वको विश्व व्यवस्था विखण्डन भएको” टिप्पणी गरेपछि विवाद थप उग्र बनेको छ। जवाफमा ट्रम्पले क्यानडालाई अमेरिकाकै कारण अस्तित्वमा रहेको दाबी गरे, जबकि कार्नीले क्युबेकबाट सम्बोधन गर्दै भने, “क्यानडा अमेरिकाका कारण बाँचेको होइन, साझेदारीमा फस्टाएको हो। हामी क्यानेडियाली हौँ र हाम्रो आफ्नै स्वाभिमान छ।”
व्यापारिक विवाद बाहेक, कार्नीले ट्रम्पको १७५ अर्ब डलरको ‘गोल्डेन डोम’ मिसाइल डिफेन्स प्रोजेक्ट र ग्रीनल्याण्ड नीति को पनि विरोध गर्दै आएका छन्। यसैका कारण ट्रम्पले कार्नीलाई ‘बोर्ड अफ पिस’ मा दिइएको निमन्त्रणा फिर्ता लिएका छन्।
क्यानडाले आफ्नो कुल निर्यातको ७५ प्रतिशत अमेरिका पठाउँछ। यदि ट्रम्पले १०० प्रतिशत कर वृद्धिको चेतावनी कार्यान्वयन गरे भने क्यानडाको कार, आल्मुनियम र स्टिल उद्योग धराशयी हुने जोखिम छ। ट्रम्पले यसअघि क्यानडालाई “अमेरिकाको ५१ औँ राज्य” बन्न सुझाव दिएका थिए, जुन कार्नीले अस्वीकार गरिसकेका छन्।



