काठमाडौं,१२ माघ । राष्ट्रिय सभामा १८ जना नयाँ सदस्य निर्वाचित भएसँगै माथिल्लो सदनको संरचना फेरिएको छ। नवनिर्वाचित सांसदहरूमा पूर्व प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य, अनुभवी राजनीतिज्ञदेखि युवा तथा सीमान्तकृत समुदायका प्रतिनिधिसम्म समेटिएका छन्।
आगामी फागुन २० मा कार्यकाल सकिन लागेका १९ मध्ये १८ पदका लागि आइतबार निर्वाचन सम्पन्न भएको हो। निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल भएको थियो भने नेपाल कम्युनिस्ट पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो। निर्वाचनबाट तालमेलमा रहेका उम्मेदवारहरू नै विजयी भएका छन्।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन्। सातै प्रदेशमा ५५० प्रदेशसभा सदस्य र ७५३ स्थानीय तहका प्रमुख–उपप्रमुखसहित कुल १ हजार ५०६ स्थानीय तहका पदाधिकारी मतदाता रहेका थिए। नवनिर्वाचित सदस्यहरूको कार्यकाल आगामी फागुन २१ बाट सुरु हुनेछ।
प्रतिनिधिसभाबाट राष्ट्रिय सभातर्फ चार सांसद
यस निर्वाचनमार्फत प्रतिनिधिसभामा अनुभव बटुलेका चार नेता राष्ट्रिय सभामा प्रवेश गरेका छन्। लोसपाका महन्थ ठाकुर, एमालेकी रामकुमारी झाँक्री, कांग्रेसका सुनिलबहादुर थापा र ललितजंग शाही अघिल्ला संसदीय अनुभव भएका नेता हुन्।
८३ वर्षीय महन्थ ठाकुर मधेश प्रदेशबाट निर्वाचित भएका हुन्। पटक–पटक प्रतिनिधिसभा सदस्य भइसकेका ठाकुर राजनीतिक जीवनको उत्तरार्धमा राष्ट्रिय सभामा पुगेका हुन्।
रामकुमारी झाँक्री २०७४ मा प्रतिनिधिसभा सदस्य र मन्त्री बनेकी नेता हुन्। २०७९ को चुनाव पराजयपछि उनी राष्ट्रिय सभामा पुगेकी छन्।
कर्णालीबाट निर्वाचित ललितजंग शाही संविधानसभा सदस्यका रूपमा संविधान निर्माण प्रक्रियामा संलग्न थिए। उनले संविधान सही ट्रयाकमा ल्याउन राष्ट्रिय सभाबाट भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्।
कोशी प्रदेशबाट कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भए। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा थापासँग संघीय सांसद, मन्त्री र राष्ट्रपति कार्यालयमा प्रमुख राजनीतिक सल्लाहकारको अनुभव छ। प्रतिस्पर्धी उम्मेदवार समयमै मनोनयन दर्ता गर्न नसक्दा उनी निर्विरोध भएका हुन्।
कोशी प्रदेशबाट रोशनी मेचे राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएसँगै सीमान्तकृत मेचे समुदायले संघीय संसद्मा सशक्त आवाज पाएको छ। समाजशास्त्र र कानुनमा अध्ययन गरेकी रोशनीले अब छ वर्षसम्म अल्पसंख्यक समुदायका मुद्दा उठाउने बताएकी छन्।
मधेश प्रदेशबाट कांग्रेसका धमेन्द्र पासवान, रन्जित कर्ण र एमालेकी रेखा झा निर्वाचित भए। धमेन्द्र पासवान दलित अधिकारकर्मी हुन् भने रन्जित कर्ण नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष हुन्। रेखा झा एमालेबाट राष्ट्रिय सभामा प्रवेश गर्ने नेतृ हुन्।
कोशी प्रदेशबाट दलित कोटाबाट निर्वाचित सोम पोर्तेलले राष्ट्रिय सभामा युवाको मुद्दा सशक्त रूपमा उठाउने बताएका छन्। स्थानीय सरकारदेखि जिल्ला समन्वय समितिको नेतृत्व गरिसकेका पोर्तेल युवाको प्रतिनिधित्वका रूपमा हेरिएका छन्।
बागमतीबाट कांग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेम दंगाल निर्वाचित भए। दंगाल किसान आन्दोलन र खाद्य सम्प्रभुताका विषयमा कलम चलाउने नेताका रूपमा परिचित छन्।
गण्डकी प्रदेशबाट कांग्रेसका जगत तिमिल्सिना र एमालेकी सम्झना देवकोटा विजयी भए। शिक्षण पेशाबाट राजनीतिमा आएका जगतलाई कांग्रेसले राष्ट्रिय सभामा पठाएको हो।
लुम्बिनीबाट कांग्रेसका वासुदेव जंगली र चन्द्रबहादुर केसी निर्वाचित भए भने कर्णालीबाट कांग्रेसका ललितजंग शाहीसँगै एमालेकी मिना रखाल संसद्मा पुगेकी छन्।
सुदूरपश्चिम प्रदेशबाट कांग्रेसका खम्मबहादुर खाती र एमालेकी लीला भण्डारी निर्वाचित भएका छन्। खाती कानुन व्यवसाय र सरकारी सेवा पृष्ठभूमिका नेता हुन् भने भण्डारी माओवादी आन्दोलनको पृष्ठभूमिबाट आएकी नेतृ हुन्।

