अमेरिकामा भीषण हिमआँधीः १८ करोड नागरिक प्रभावित, १० लाखभन्दा बढी घर अन्धकारमा

spot_img

काठमाडौं,१२ माघ  । शक्तिशाली हिमआँधीले संयुक्त राज्य अमेरिकाको जनजीवन गम्भीर रूपमा प्रभावित बनेको छ। टेक्ससदेखि न्यू इङ्गल्याण्डसम्म फैलिएको यो आँधीका कारण लुजियाना र टेक्ससमा कम्तीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ भने करोडौं नागरिक अत्यधिक चिसो, बरफ र विद्युत् अवरोधको मारमा परेका छन्।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले आगामी केही दिनसम्मको मौसम अवस्था “जीवनका लागि घातक” हुन सक्ने चेतावनी दिँदै नागरिकलाई अत्यन्त सतर्क रहन आग्रह गरेको छ। आँधीसँगै परेको भारी बरफका कारण रूख ढल्ने र विद्युत् लाइन क्षतिग्रस्त हुँदा १० लाखभन्दा बढी घर र व्यवसायमा विद्युत् आपूर्ति बन्द भएको छ।

हिमआँधीका कारण देशभरको यातायात प्रणाली गम्भीर रूपमा अवरुद्ध भएको छ। अहिलेसम्म १० हजारभन्दा बढी उडानहरू रद्द गरिएका छन्। सडकमा बाक्लो बरफ जम्दा भर्जिनिया राज्यमा मात्र दुई सयभन्दा बढी सवारी दुर्घटना भएको जनाइएको छ। केन्टकीका गभर्नर एन्डी बेशियरले सडक अवस्था अत्यन्त खतरनाक रहेको र अर्को सातासम्म सुधार हुने सम्भावना कम रहेको बताएका छन्।

चरम चिसो र हिमआँधीका कारण अमेरिकाका झण्डै आधा राज्यमा संकटकाल घोषणा गरिएको छ। धेरै स्थानमा विद्यालय, सरकारी कार्यालय बन्द छन् भने अमेरिकी सिनेटको सोमबारका लागि तय मतदानसमेत स्थगित गरिएको छ। वासिङ्टन डिसीकी मेयर मुरियल बाउजरले यसलाई पछिल्लो एक दशककै सबैभन्दा शक्तिशाली हिमआँधीको संज्ञा दिएकी छन्।

सामान्यतया न्यानो रहने टेक्सस, लुजियाना र टेनेसी जस्ता राज्यहरूमा तापक्रम औसतभन्दा १५ देखि २० डिग्री सेल्सियससम्म घटेको छ। अचानक आएको यो चिसोले त्यहाँका बासिन्दा तयारीविहीन अवस्थामा परेका छन्।

मौसमविद्हरूका अनुसार आर्क्टिक क्षेत्रको अत्यधिक चिसो हावा प्रणाली ‘पोलर भोर्टेक्स’ दक्षिणतर्फ सर्दा यो हिमआँधी उत्पन्न भएको हो। विज्ञहरूले जलवायु परिवर्तनका कारण समुद्रको तापक्रममा आएको असन्तुलनले यस्ता चरम मौसमी घटना बारम्बार दोहोरिन थालेको चेतावनी दिएका छन्।

मौसम पूर्वानुमानअनुसार यो चिसो लहर फेब्रुअरीको सुरुसम्म कायमै रहने सम्भावना छ, जसले गर्दा अझ सतर्कता आवश्यक देखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय