बङ्गलादेशको कपडा उद्योग संकटमा, १० लाख रोजगारी गुम्ने जोखिम

spot_img

काठमाडौं,१२ माघ । बङ्गलादेशको टेक्सटाइल (कपडा) उद्योग गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। टेक्सटाइल मिल मालिकहरूले सरकारलाई चेतावनी दिँदै यदि जनवरीको अन्त्यसम्ममा धागोको भन्साररहित आयात बन्द नगरिए फेब्रुअरी १ देखि देशभरका मिलहरू बन्द गर्ने घोषणा गरेका छन्।

सञ्चारमाध्यमहरूका अनुसार, बङ्गलादेशको वाणिज्य मन्त्रालयले राष्ट्रिय राजस्व बोर्डलाई आयातित धागोमा दिइँदै आएको भन्सार छुट सुविधा खारेज गर्न सिफारिस गरेको छ। मिल मालिकहरूले भारतबाट आउने सस्तो धागोले स्वदेशी बजार भरिएकोले स्थानीय उद्योगहरूलाई ठूलो नोक्सानी भइरहेको दाबी गरेका छन् । समान प्रतिस्पर्धाको वातावरण समाप्त भएको र मिलहरू बन्द भएमा १० लाख मजदुरको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन्।

बङ्गलादेश टेक्सटाइल मिल्स एसोसिएसन (बीटीएमए) ले सरकारलाई सचेत गराउँदै भनेको छ, ‘यदि फेब्रुअरी १ देखि मिलहरू बन्द भएमा करिब १० लाख मजदुरको रोजगारी प्रभावित हुनेछ।’ यसले देशमा सामाजिक तनाव समेत बढाउन सक्ने आशङ्का गरिएको छ। यति हुँदाहुँदै पनि सरकारले अहिलेसम्म मूल्य अभिवृद्धि कर (भ्याट) मा कुनै राहतको घोषणा गरेको छैन।

बङ्गलादेशका तयारी पोसाक (गार्मेन्ट) उत्पादकहरूले वर्षौँदेखि भारतबाट सुती धागो र चीनबाट पोलिस्टर धागो आयात गर्दै आएका छन्। तर पछिल्लो तीन–चार महिनामा ग्यासको अभाव, अनियमित आपूर्ति र ऊर्जाको बढ्दो मूल्यले थप समस्या सिर्जना गरेको छ।

बीटीएमएका अनुसार, सस्तो भारतीय धागोको ठूलो परिमाणमा आयात भएका कारण बजारमा करिब १५ अर्ब बराबरको स्वदेशी धागो बिक्री नभएर थन्किएको छ। हालसम्म ५० भन्दा बढी टेक्सटाइल मिलहरू बन्द भइसकेका छन् भने हजारौँ मजदुरले रोजगारी गुमाएका छन्। धेरै उद्योगीहरूलाई बैंकको ऋण तिर्न समेत मुस्किल परिरहेको छ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२५ मा बङ्गलादेशले करिब २ हजार करोड डलर बराबरको ७० करोड किलोग्राम धागो आयात गरेको थियो, जसमा ७८ प्रतिशत हिस्सा भारतको रहेको छ। स्पिनिङ मिल मालिकहरूले १० देखि ३० काउन्टका सुती धागोको भन्साररहित आयात बन्द गर्न माग गरेका छन् । उनीहरूले सस्तो र निरन्तर ग्यास आपूर्ति, सङ्कटको समयमा भ्याटमा राहत, बैंक ऋणको ब्याजदरमा कटौती र सरकारसँग सिधै संवादको वातावरण बनाउन पनि माग गरेका छन् ।

अर्कोतर्फ, गार्मेन्ट आयातकर्ताहरू भने भारतीय धागोको गुणस्तर र नियमित आपूर्ति राम्रो रहेको बताउँछन्। उनीहरूका अनुसार भन्साररहित आयात रोकिएमा उत्पादन लागत बढ्नेछ र विश्व बजारमा बङ्गलादेशको प्रतिस्पर्धात्मक क्षमता कमजोर हुनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय