बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता

spot_img

काठमाडौँ,१३ माघ । काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरिएको अभिव्यक्तिले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाइएको हो।

झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका शाहले ओलीमाथि सामाजिक सञ्जालमार्फत ‘हत्यारा’ र ‘आतंकवादी’ जस्ता शब्द प्रयोग गरी मानमर्दन गरेको भन्दै कारबाहीको मागसहित धर्मराज तिमिल्सिनाले निर्वाचन आयोगमा उजुरी दर्ता गराएका छन्। उजुरीमा उक्त अभिव्यक्तिले समाजमा घृणा फैलाएको र निर्वाचनको मर्यादा विपरीत भएको दाबी गरिएको छ।

उजुरीमा उल्लेख भएअनुसार एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा प्रमुख राजनीतिक नेताहरूबीच पारदर्शी, बौद्धिक र मर्यादित खुला बहस (डिबेट) आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। त्यसको प्रतिक्रिया स्वरूप बालेन शाहले सामाजिक सञ्जालमा ओलीमाथि अत्यन्तै गम्भीर र विवादास्पद आरोप लगाएका थिए।

उजुरीकर्ताका अनुसार प्रमाण वा अदालतको फैसलाविना एक पूर्वप्रधानमन्त्री तथा प्रमुख राजनीतिक दलका नेतामाथि यस्ता आरोप लगाउनु लोकतान्त्रिक बहसको मर्मविपरीत हो। उजुरीमा भनिएको छ कि यस प्रकारका अभिव्यक्तिले मतदातालाई भ्रमित पार्नुका साथै समाजमा द्वेष र नकारात्मकता फैलाउने जोखिम रहन्छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि लागू आचारसंहिता २०७९ अनुसार कसैको चरित्रहत्या गर्ने, द्वेषपूर्ण वा अपुष्ट आरोप लगाउने कार्य निषेध गरिएको छ। उजुरीकर्ताले निर्वाचन आयोगबाट यस्ता अभिव्यक्ति नदोहोर्‍याउन स्पष्ट निर्देशन र दोषी देखिएमा कानुनअनुसार कारबाहीको माग गरेका छन्।

निर्वाचनको सरगर्मी बढिरहेका बेला सार्वजनिक पदमा रहिसकेका एक नेताबाट पूर्वप्रधानमन्त्रीमाथि लगाइएका गम्भीर आरोपले राजनीतिक वृत्तमा चासो र बहस पैदा गरेको छ। विश्लेषकहरूका अनुसार प्रमाणविना गरिने यस्ता आरोपले निर्वाचन प्रक्रियाको स्वस्थ प्रतिस्पर्धामा नकारात्मक असर पार्न सक्छ।

यस विषयमा निर्वाचन आयोगले प्रारम्भिक अध्ययन सुरु गरी बालेन शाहसँग स्पष्टीकरण सोध्ने तयारी गरेको बुझिएको छ। आचारसंहिता उल्लंघन पुष्टि भएमा जरिवाना वा अन्य कानुनी प्रक्रिया अघि बढाउन सकिने प्रावधान रहेको आयोग स्रोतले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय