काठमाडौँ,१४ माघ । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अर्थ मन्त्रालयले अहिलेसम्म १९ अर्ब २१ करोड रुपैयाँ निकासा गरेको छ। यो रकम निर्वाचन व्यवस्थापन र सुरक्षा सुनिश्चित गर्न विभिन्न निकायलाई विनियोजन गरिएको हो।
अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार गृह मन्त्रालयलाई १० अर्ब ३९ करोड, रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ निकासा गरिएको छ।
पछिल्ला दुई निर्वाचनको तुलनामा सुरक्षा खर्चको अनुपात बढी देखिएको छ। २०७९ को स्थानीय तह र प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचनमा कुल २८ अर्ब ५८ करोड रुपैयाँ खर्च भएको थियो, जसमा गृह तथा रक्षा मन्त्रालयको खर्च निर्वाचन आयोगको भन्दा बढी थियो।
यस पटक पनि गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका लागि क्रमिक रूपमा बजेट विनियोजन भइरहेको छ। सुरक्षा निकायका लागि करिब २० अर्ब रुपैयाँ विनियोजन प्रस्ताव गरिएको र निर्वाचन प्रहरी, जवान, पोसाक, भत्ता र यातायात खर्चका लागि पर्याप्त रकम सुनिश्चित हुने जनाएको छ।
अर्थ मन्त्रालयले आगामी निर्वाचनमा करिब २५ अर्ब खर्च हुने अनुमान गरेको छ। यसैबीच निर्वाचन आयोगले आफ्नो प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै करिब २० प्रतिशत बजेट फिर्ता गर्ने तयारी गरेको छ।

