वीरगञ्ज, १५ माघ । विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा लामो समयदेखि सक्रिय नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मनोज चौधरीको पर्सा निर्वाचन क्षेत्र नं. २ मा भएको प्रवेशले चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको छ। उनको उम्मेदवारीले ठूला दलहरूलाई समेत चुनौती दिने विश्वास स्थानीय स्तरमा गरिएको छ।
लामो राजनीतिक यात्रापछि चौधरी पहिलो पटक चुनावी मैदानमा उत्रिएका हुन्। उनले आफू चुनाव हार्नका लागि उम्मेदवार नभएको दाबी गर्दै बाहिर देखिएजस्तो कमजोर नभई भित्री रूपमा निकै बलियो रहेको बताएका छन्।
सञ्चारकर्मीहरूसँगको कुराकानीमा चौधरीले नेपाली कांग्रेस र नेकपा एमालेकै कारण देश आजको अवस्थामा आइपुगेको आरोप लगाए। अब जनताले परिवर्तन र नयाँ अनुहार खोजिरहेको उनको भनाइ थियो।
नेपाली कम्युनिष्ट पार्टी प्रगतिशील र समाजवादी अभियानमा अग्रसर पार्टी भएको उल्लेख गर्दै उनले समाजवादी आन्दोलनमार्फत नै देशलाई अग्रगमनतर्फ लैजान सकिने बताए। विभिन्न पार्टीहरू एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टी भएकाले हाल आफू पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरूसँग व्यापक भेटघाट गरिरहेको उनले जानकारी दिए।
केही दिनभित्र घरदैलो कार्यक्रम सुरु गर्ने तयारी रहेको बताउँदै चौधरीले आफ्नो जितको बलियो आधार प्रस्तुत गर्ने दाबी गरे। तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूको पर्सामा बलियो संगठन रहेको र आम मतदातामाझ आफू लोकप्रिय भएकाले जीत सुनिश्चित हुनेमा आफू ढुक्क रहेको उनले बताए।



