spot_img

उपेन्द्र यादवद्वारा सङ्घीयता, पहिचान र समानुपातिक प्रतिनिधित्वमा जोड

spot_img
spot_img

सप्तरी,२० माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा सप्तरी–३ का प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवले मुलुकको समावेशी विकास र पिछडिएका जाति तथा समुदायको हक–अधिकार सुनिश्चित गर्न सङ्घीयता, पहिचान र समानुपातिक प्रतिनिधित्वलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबार रुपनी गाउँपालिका–६, तेरहौतामा आयोजित चुनावी भेटघाट कार्यक्रममा अध्यक्ष यादवले मधेशी, आदिवासी जनजाति, थारु, दलित लगायत समुदायको लामो आन्दोलनबाटै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराएकाे हाे । उनले उत्पीडित समुदायका हक–अधिकार सुनिश्चित गर्न मधेस आन्दोलनले हासिल गरेका उपलब्धिहरूको संरक्षण गर्नु आवश्यक रहेको बताए।

अध्यक्ष यादवले भने, “पहिचानको आन्दोलनबाट प्राप्त अधिकारको रक्षा र थप अधिकार प्राप्तिका लागि संघर्ष जारी छ। त्यसैले जसपा नेपालका उम्मेदवारहरूको जित अपरिहार्य छ।”

उनले मधेश आन्दोलनको महत्वमा प्रकाश पार्दै उल्लेख गरे, “मधेशी, महिला, दलित, जनजाति, थारु, मुस्लिम र अन्य अल्पसंख्यक समुदायको कोटा मधेश जनविद्रोहकै कारण सुनिश्चित भएको हो। यदि मधेश आन्दोलन नभएको भए अन्य पार्टीहरूमा पनि मधेशीले स्थान पाउँदैनथे।”

नेपालमा एकमात्र मधेश प्रदेश पहिचानको आधारमा स्थापना भएको भए पनि जनसंख्याको आधारमा करिब ६० प्रतिशत मधेशी भए पनि विकास बजेट मात्र ११ प्रतिशत दिइँदै आएको भन्दै उनले अपेक्षित विकास हुन नसकेको गुनासो गरे । आदिवासी, दलित तथा मधेशी जनताको हक–अधिकार सुनिश्चित गर्न सबैले एकताबद्ध भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

उनले पछिल्ला ३५ वर्षसम्म कांग्रेस–कम्युनिस्ट सरकारले भ्रष्टाचार र लुटतन्त्र बाहेक काम गर्न नसकेको र उद्योग–कलकारखाना बन्द हुनु, सरकारी विद्यालय र अस्पतालहरू निजीकरण हुँदै धराशायी बनाइएको आरोप पनि लगाए ।

कार्यक्रममा स्थानीय नेता पृथ्वीराज दासको अध्यक्षतामा स्वस्तिका चौधरी र चुल्हाइ मण्डल (समानुपातिक उम्मेदवार), उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, पूर्व उपाध्यक्ष बेचनीदेवी सरदार, वडा नं. ६ का वडाध्यक्ष बद्री नारायण सरदार, स्थानीय जनप्रतिनिधि, नेताकार्यकर्ता, बुद्धिजीवी र समाजसेवीहरू उपस्थित थिए।

spot_img

ताजा अपडेट

लोकप्रिय