काठमाडौं,२४ माघ । अमेरिका र भारतबीच अन्तरिम व्यापार सम्झौता औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै देशले संयुक्त वक्तव्य जारी गर्दै सम्झौताको घोषणा गरेका हुन्।
यसअघि फेब्रुअरी २ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको जानकारी दिँदै भारतबाट आयात हुने वस्तुमा लगाइएको ५० प्रतिशत ट्यारिफ घटाएर १८ प्रतिशतमा झार्ने घोषणा गरेका थिए। यद्यपि, त्यसबेला सम्झौताका विस्तृत विवरण सार्वजनिक गरिएको थिएन।
संयुक्त वक्तव्य सार्वजनिक भएसँगै सम्झौताका मुख्य पक्षहरू स्पष्ट भएका छन्। भारतका वाणिज्य मन्त्री पीयूष गोयलले सामाजिक सञ्जाल एक्समार्फत वक्तव्य जारी गर्दै यस सम्झौताले भारतीय निर्यातकर्ताहरूका लागि झण्डै ३० ट्रिलियन अमेरिकी डलर बराबरको विशाल अमेरिकी बजारमा पहुँच विस्तार गर्ने बताएका छन्।
उता, ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा राष्ट्रपति ट्रम्पले भारतले रुसी महासंघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तेल आयात नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गरेका छन्। साथै, भारतले अमेरिकाबाट ऊर्जा उत्पादन खरिद गर्ने र आगामी १० वर्षमा रक्षा तथा सुरक्षा सहयोग विस्तार गर्न सहमत भएको जनाइएको छ।
सम्झौताअनुसार अमेरिकाले भारतबाट आयात हुने वस्तुहरूमा लाग्दै आएको ‘रेसिप्रोकल ट्यारिफ’ कटौती गर्ने निर्णय गरेको छ। यस कटौतीपछि भारतीय उत्पादनमा लागू हुने आयात शुल्क १८ प्रतिशत कायम रहनेछ।
ह्वाइट हाउसका अनुसार अन्तरिम व्यापार सम्झौताका लागि आवश्यक फ्रेमवर्क तय भइसकेको छ र यसमा केही सर्त तथा प्रतिबद्धतासमेत समावेश गरिएको छ। दुवै देशले भविष्यमा दीर्घकालीन व्यापार सम्झौताका लागि थप छलफल अघि बढाउने संकेत पनि दिएका छन्।

