काठमाडौं,२४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेताहरूले गरेको प्रतिबद्धता तोकिएको समयभित्र पूरा नगरे जनताले राजनीतिक रूपमा सजाय दिनुपर्ने बताएका छन्।
चितवनस्थित पोखरा बस सेवा सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जनतासामु बोलेका कुरा पूरा नगरी नेताहरू सहज रूपमा हिँड्न नपाउने स्पष्ट पारे।
“भनेको कुरा पूरा नगर्दा, भाका पूरा नगर्दा नेताले हाँसेर हिँड्न पाउँदैनन्। जनताले त्यसको सजाय दिने हक राख्छन्,” उनले भने।
आगामी निर्वाचनलाई लक्षित गर्दै लामिछानेले यसपटक पार्टीले नागरिकसँग प्रत्यक्ष करार गर्ने अवधारणाका साथ अघि बढ्न लागेको उल्लेख गरे। पार्टी सभापतिको हैसियतले देशका विभिन्न स्थानमा पुग्नुपर्ने दायित्व रहेकाले चितवन क्षेत्र नम्बर २ का नागरिकलाई आफूले अनुपस्थित हुँदा प्रतिनिधिका रूपमा काम गर्न आग्रह गरे।
“यसपटक चितवन मात्र जितेर पुग्दैन, देशभर जित्नुपर्ने आवश्यकता छ,” उनले भने, “तपाईंहरू मेरो प्रतिनिधि बनेर वरपरका घर–घरमा पुगिदिनुहोस्, त्यसले मलाई दुर्गम क्षेत्रमा पुगेर अभियान विस्तार गर्न मद्दत गर्छ।”
रास्वपाले आगामी निर्वाचनमा कम्तीमा एकल बहुमतको सरकार गठन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै लामिछानेले पाँच वर्षको स्थिर सरकार देशका लागि अत्यावश्यक भएको बताए।
“यो देशलाई पाँच वर्ष स्थायी सरकार चाहिएको छ। त्यसपछि पाँच वर्षको काम आफैँ बोल्छ, हामीले धेरै कुरा भन्नु पर्दैन,” उनको भनाइ थियो।
उनले मतदातासँग कुनै अतिरिक्त माग नरहेको भन्दै निर्णयको जिम्मा स्वयं नागरिकको विवेक र विचारमा सुम्पिएको बताए।
“हामी तपाईंहरूकै विवेकमा भरोसा गरिरहेका छौँ,” उनले भने।

