इटहरी,२४ माघ । खुला सीमा रहेका नेपाल र भारतबिच सीमा सुरक्षा मजबुत बनाउने तथा आपराधिक गतिविधि नियन्त्रणका लागि आपसी सहकार्य र सूचनाको आदान–प्रदानलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।
सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच मोरङको विराटचोकमा सम्पन्न १६औँ डीआईजी तहको समकक्ष समन्वय बैठकले सीमा क्षेत्रमा देखिने सुरक्षा चुनौती सामूहिक रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको हो।
बैठकमा तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागू औषध ओसारपसार जस्ता संगठित अपराध नियन्त्रणका विषयमा दुवै देशका सुरक्षा निकायबिच घनिष्ठ सहकार्य गर्ने सहमति भएको छ।
यसैगरी, सीमा स्तम्भको संरक्षण, नो–म्यान्स ल्यान्डको व्यवस्थापन, यात्रु सहजीकरण, नियमित संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा समेत सहमति जुटेको छ।
नेपालमा आगामी फागुन १५ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचनअघि ४८ घण्टा अगावै सीमा सिल गर्ने, गस्ती सघन बनाउने र सीमा क्षेत्रको सुरक्षा संयन्त्र थप सुदृढ गर्ने निर्णय पनि बैठकले गरेको सशस्त्र प्रहरी बल नम्बर–१ वराह बाहिनी मुख्यालयका नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो।
बैठकमा स्वागत मन्तव्य राख्दै डीआईजी न्यौपानेले सीमा दुई देशबिचको भौगोलिक रेखामात्र नभई मित्रता, विश्वास र सहकार्यको प्रतीक भएको उल्लेख गर्नुभयो। भारततर्फबाट एसएसबीका डीआईजी सरोज कुमार ठाकुर (आईपीएस) ले द्विपक्षीय सुरक्षा सहकार्यलाई आगामी दिनमा अझ मजबुत बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न आपसी समन्वय, सहयोग र सूचनाको आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको बताइएको छ।
उक्त बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बलका नायब महानिरीक्षकहरू कुमार न्यौपाने, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनीष थापाको सहभागिता रहेको थियो। भारतीय पक्षबाट एसएसबीका डीआईजीहरू सरोज कुमार ठाकुर, मञ्जीत सिंह, सुरेश सुब्रमणियम, राजेश टिक्कु र मनीष कुमारसहित वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।

