सप्तरी,२५ माघ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र कम्युनिष्ट दलहरूले देशमा सुशासन, विकास र समृद्धि कायम गर्न नसकेकै कारण मुलुक असहज अवस्थाबाट गुज्रिरहेको आरोप लगाएका छन् ।
सप्तरीको रुपनी गाउँपालिका–३, हर्दियामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले २०४६ सालको जनआन्दोलनपछिका अधिकांश सरकारमा कांग्रेस र कम्युनिष्टको नेतृत्व रहेको भए पनि जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताए । त्यसैको परिणामस्वरूप युवा पुस्ता आन्दोलित हुँदै देश अस्थिरतातर्फ धकेलिएको उनको भनाइ थियो ।
उनले शिक्षा, स्वास्थ्य र उद्योग क्षेत्रलाई व्यवस्थित गर्नुपर्नेमा ती क्षेत्रलाई निजीकरण र पार्टीकरण गरिएकोले सरकारी संरचना तहसनहस भएको दाबी गरे । सप्तरी निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवारसमेत रहेका यादवले चुनावको समयमा ठूलो बाचा गर्ने तर जितेपछि जनताको पक्षमा काम नगर्ने प्रवृत्तिको कडा आलोचना गरे ।
‘नेताहरूले चुनावका बेला बाटो, अस्पताल, विद्यालय, कलेज र सिँचाइको सपना देखाउँछन्, तर जितेपछि ती प्रतिबद्धता किन पूरा भएनन् भनेर जनताले निरन्तर प्रश्न गर्नुपर्छ,’ उनले भने, ‘जनताले प्रश्न गर्न थालेपछि मात्रै नेता जिम्मेवार बन्छन् ।’
अध्यक्ष यादवले देशमा भएका धेरै परिवर्तनहरू जनता समाजवादी पार्टीकै पहलमा सम्भव भएको दाबी गर्दै आफू र भावी पुस्ताको सुरक्षित भविष्यका लागि जसपाका उम्मेदवारलाई अत्यधिक मतले विजयी गराउन मतदातासँग आग्रह गरे ।
उनले आफू सप्तरी–२ बाट निर्वाचित भएपछि रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, कृषि विश्वविद्यालय, गजेन्द्रनारायण सिंह अस्पतालको स्तरोन्नति, इन्जिनियरिङ तथा नर्सिङ कलेजका भवन निर्माण, पक्की सडकजस्ता पूर्वाधार विकासका काम सुरु भइसकेको र केही सम्पन्न हुने चरणमा रहेको जानकारी गराए ।

