काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका ६७ जिल्लाका १५५ निर्वाचन क्षेत्रका मतपत्र छपाइको ठूलो काम सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार आजसम्म १ करोड ९१ लाख २४ हजार मतपत्र छपाइ सकिएको छ भने करिब ११ लाख ९९ हजार मतपत्र मात्र बाँकी रहेको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बाँकी मतपत्र छपाइ पूरा भएपछि प्याकिङ गरेर ढुवानीका लागि तयारी पूरा हुने जानकारी दिएका छन्। हालसम्म १७ हजार ७२८ बाकस मतपत्र प्याकिङ भइसकेको छ।
मतपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा सुरु भएको थियो। समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतपत्र छपाइ पुस २२ गतेदेखि सुरु भई माघ १३ गते सम्म दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ सकिएको थियो। प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत मतपत्र छपाइ माघ १६ गतेदेखि सुरु भई अहिले १.९१ करोड मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ।
मतपत्रको वितरण क्रम शुक्रबारदेखि सुरु भइसकेको छ। पहिलो चरणमा कर्णाली प्रदेशका जिल्ला र गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका मतपत्र पठाइएको छ। सहरी क्षेत्र र सुगम जिल्लामा भने मतपत्र पठाउन बाँकी छ।
निर्वाचन आयोगले मतपत्र छपाइ, प्याकिङ र ढुवानीको काम दुई दिनभित्र सबै जिल्लामा पूरा गर्ने लक्ष्य लिएको छ।

