वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा नेपाली काँग्रेसका नेता अनिल रुङ्टाको नेतृत्वमा वीरगञ्ज महानगरपालिका अन्तर्गत पर्ने श्रीपुर र मुर्ली क्षेत्रमा गरिएको घरदैलो कार्यक्रम पार्टीले ‘भव्य’ भने पनि व्यवहारमा भने अपेक्षाअनुसार प्रभावकारी देखिन सकेन । कार्यक्रममा पार्टी कार्यकर्ताको भीड बढी देखिए पनि सर्वसाधारण मतदाताको सहभागिता सीमित देखिएको छ ।
घरदैलोका क्रममा रुङ्टाले लोकतान्त्रिक मूल्य, सुशासन र विकासका योजना सुनाए पनि ती विषय विगतदेखि दोहोरिँदै आएका नारामै सीमित रहेको स्थानीयको टिप्पणी छ । पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता समस्या वर्षौंदेखि समाधान नहुँदा नयाँ प्रतिबद्धताले विश्वास जगाउन नसकेको उनीहरूको भनाइ छ ।
राजनीतिसँगै व्यावसायिक पृष्ठभूमि भएका रुङ्टा सम्भावत सांसद बनेपछि नीति जनमुखी भन्दा निजीमुखी बन्ने खतरा रहेकाे मतदाताहरुको भनाइ रहेको छ। उद्योग र व्यवसायमा संलग्न व्यक्ति संसद पुगेपछि नीति निर्माण जनमुखीभन्दा निजी क्षेत्र अनुकूल हुन सक्ने आशंका बढ्दै गएको छ ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कुरा गरिए पनि पर्सा क्षेत्रमा विकास बजेटको प्रयोग र ठेक्का प्रक्रियामा हुने पहुँचको प्रभाव अझै रोकिएको छैन भन्ने आरोप लाग्दै आएका छन् । ‘सुझबुझको आवाज’ व्यवहारमा उतार्ने भनिए पनि कार्यक्रम सुझाव संकलनभन्दा प्रचारमुखी बनेको आलोचकहरूको भनाइ छ ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति भए पनि सर्वसाधारणको न्यून सहभागिताले काँग्रेसको चुनावी माहौल सशक्तभन्दा पनि चुनौतीपूर्ण बन्दै गएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ ।
स्थानीयवासीहरूका अनुसार चुनाव नजिकिँदा मात्रै देखिने सक्रियता र पछि हराउने प्रवृत्ति दोहोरिन सक्ने जोखिम अझै कायमै छ । त्यसैले पर्सा क्षेत्र नम्बर १ मा अनिल रुङ्टाको अभियान अहिले लोकप्रियताभन्दा बढी विश्वसनीयताको परीक्षामा परेको देखिन्छ ।

