काठमाडौं,०५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीले आवश्यक ठानेर सोविता गौतमलाई चितवन–३ बाट उम्मेदवार बनाएको बताएका छन्। मंगलबार चितवनमा आयोजित चुनावी सभामा बोल्दै उनले चितवनबाट सुरु भएको परिवर्तनको भावनालाई अब राजनीतिक निर्णयमा रूपान्तरण गर्न सोविताको उम्मेदवारी महत्वपूर्ण भएको उल्लेख गरे।
लामिछानेका अनुसार सोवितालाई चितवन ल्याउने निर्णय व्यक्तिगत नभई पार्टीको सामूहिक निर्णय हो। उनले चितवनलाई शान्तिपूर्ण रूपमा परिवर्तनको सन्देश दिने स्थानका रूपमा चित्रण गर्दै, त्यही सन्देशलाई अगाडि बढाउन सोविताको भूमिका आवश्यक रहेको बताए।
उनले सोविता गौतमलाई केवल उम्मेदवारका रूपमा नभई नयाँ पुस्ताका लागि प्रेरणादायी र साहसी महिला नेतृका रूपमा प्रस्तुत गरे। देशका विभिन्न स्थानबाट उम्मेदवारीका प्रस्ताव आए पनि चितवनबाट सन्देश दिनुपर्ने आवश्यकता महसुस गरेर उनलाई त्यहाँबाट उठाइएको उनको भनाइ थियो।
सम्बोधनका क्रममा लामिछानेले यसपटक मतदाताले केवल चुनावी परिणाम होइन, परिवर्तनको निर्णय गर्नुपर्ने समय आएको बताए। विगतमा आफूलाई जनताले दिएको साथप्रति आभार व्यक्त गर्दै उनले सत्य र इमानकै आधारमा सक्षम साथीहरूलाई संसद् पुर्याउने प्रतिबद्धता जनाए। उनले आगामी निर्वाचन देश र जनताको जितका रूपमा स्थापित हुने विश्वाससमेत व्यक्त गरे।

