सप्तरी,१६ फागुन । जनता समाजवादी पार्टी नेपाल का अध्यक्ष उपेन्द्र यादव ले मधेश अब राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाएको दाबी गरेका छन्। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका यादवले घरदैलो कार्यक्रमका क्रममा मतदातालाई सम्बोधन गर्दै राज्यले मधेशलाई बेवास्ता गर्दै समृद्धि सम्भव नभएको बताएका हुन्।
उनले मधेशलाई केवल भौगोलिक क्षेत्र नभई स्वाभिमान, पहिचान र अधिकारको आवाजको रूपमा चित्रण गर्दै अबको राजनीतिक समीकरणमा मधेशले नै देशको भविष्य तय गर्ने दाबी गरे। मधेश आन्दोलनका संघर्ष, बलिदान र त्यागको स्मरण गर्दै उनले मधेश सशक्त भए मात्र संघीयता सुदृढ हुने र देश सुरक्षित तथा समृद्ध बन्ने उल्लेख गरे।
अध्यक्ष यादवले जसपा नेपालले मधेशका मुद्दा—विभेद, उत्पीडन र पहिचान—लाई स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म उठाएको दाबी गरे। उनका अनुसार मधेशमाथि भएको ऐतिहासिक अन्याय र संरचनागत विभेदलाई अस्वीकार गर्ने शक्ति मधेशको हितमा हुन नसक्ने बताए।
उनले केही राजनीतिक शक्तिहरू मधेशको मत मात्र खोज्ने तर यहाँको गरिबी, अशिक्षा, बेरोजगारी र राज्यीय विभेदप्रति संवेदनशील नदेखिएको आरोप लगाए। मधेशलाई बेवास्ता गरेर विकास र समृद्धिको नारा केवल खोक्रो हुने उनको भनाइ थियो।
यादवले यस निर्वाचनलाई केवल प्रतिनिधि छान्ने प्रक्रिया नभई मधेशको सम्मान, अधिकार र भविष्य सुनिश्चित गर्ने निर्णायक अवसरका रूपमा व्याख्या गरे। उनले मतदातालाई एकताबद्ध र सचेत भएर मधेशको स्वाभिमानको पक्षमा मतदान गर्न आह्वान गर्दै आगामी निर्वाचनपछि जसपा नेपाल निर्णायक शक्तिको रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।

