सिरहा,२६ फागुन । सिरहामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही बिक्रेताले कालोबजारी गर्न थालेको भन्दै उपभोक्ताहरूले गुनासो गरेका छन्। ग्यास अभावको बहानामा निर्धारण गरिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम असुल्ने गरिएको उपभोक्ताको भनाइ छ।
लहानस्थित महराजा रेस्टुरेन्ट एण्ड होटेलका सञ्चालक पिन्टु राउतले ग्यास लिन जाँदा अत्यधिक मूल्य मागिएको बताए। उनका अनुसार दुई वटा सिलिन्डर लिन जाँदा पसलेले प्रतिसिलिन्डर ४ हजार ५०० रुपैयाँ मागेका थिए, जबकि निर्धारित मूल्यमा दुई सिलिन्डरको जम्मा ३ हजार ८२० रुपैयाँ पर्नुपर्ने हुन्छ। अत्यधिक मूल्य मागिएपछि उनी रित्तै हात फर्किनुपरेको उनले बताए।
यस्तै सिरहा नगरपालिका–६ मा चिया–नास्ता पसल सञ्चालन गर्दै आएका प्रमोद यादवले पनि ग्यास अभाव र महँगो मूल्यका कारण व्यवसाय सञ्चालन गर्न कठिन भएको बताएका छन्। उनका अनुसार बजारमा एक सिलिन्डर किन्दा ४ हजार ५०० रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको छ।
खाना पकाउने एलपी ग्यासको खुद्रा मूल्य प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँ भए पनि बजारमा त्यसको दोब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको उपभोक्ताहरूको गुनासो छ।
उपभोक्ता अधिकारकर्मीहरूले ग्यासको कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी भइरहेको हुनसक्ने भन्दै सम्बन्धित निकायलाई तत्काल बजार अनुगमन गर्न आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय सिरहाले कालोबजारी गर्नेविरुद्ध कडा कारबाही गरिने चेतावनी दिएको सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए।
उनका अनुसार वाणिज्य कार्यालयलगायत सम्बन्धित निकायसँग समन्वय गरेर बजार अनुगमन गरिने र कालोबजारी गरेको पाइए कानुनबमोजिम कारबाही गरिनेछ।
उता नेपाल आयल निगमका स्थानीय वितरकहरूले भने ढुवानी र आपूर्ति व्यवस्थापनमा समस्या हुनु, निर्वाचनका कारण केही दिन सिमाना बन्द हुनु तथा उपभोक्ताले ग्यास भण्डारण गरेर राख्नुजस्ता कारणले बजारमा अभाव देखिएको बताएका छन्।

