अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

spot_img

भैरहवा,२६ फागुन । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली गरी ल्याइएका रु ६ लाखभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा अन्दाजी रु ६ लाख २९ हजार २०० बराबरका सामान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। बरामद गरिएका सामग्री आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय भैरहवा र भन्सार कार्यालय बेलहियामा पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ओमसतिया गाउँपालिका–४ बसन्तपुरबाट करिब २० क्विन्टल काँचो केरा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी रु १ लाख २४ हजार रहेको छ। यस्तै शुद्धोधन गाउँपालिका–३ पूर्व मैनहिया नयाँबस्तीबाट रु २७ हजार बराबरका १८० जोर लेडिज चप्पल नियन्त्रणमा लिइएको छ।

मायादेवी गाउँपालिका–६ खल्बटबाट रु ७२ हजार ५०० बराबरका एल्बो सकेट १४१ थान, ८.५ लिटर मोबिल, एक बोरा कुरकुरे र एक बोरा सर्फ बरामद गरिएको छ। देवदह नगरपालिका–४ केरवानीबाट दुई मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको करिब १३० किलो ब्रोइलर कुखुरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ, जसको मूल्य अन्दाजी रु १ लाख २२ हजार रहेको छ।

त्यसैगरी रोहिणी गाउँपालिका–३ लखनौटियाबाट रु २२ हजार १०० बराबरको तेल, बिस्कुट, स्प्राइट, सलाइ तथा अन्य किराना सामग्री बरामद गरिएको छ। कोटहीमाई गाउँपालिका–३ प्रसियाघाटबाट दुई मोटरसाइकलमा ल्याइँदै गरेको पाँच कार्टुन बिस्कुट, एक बोरा चिनी र दुई बोरा मैदा बरामद गरिएको छ, जसको मूल्य अन्दाजी रु १ लाख ११ हजार ६०० रहेको प्रहरीले जनाएको छ।

सिद्धार्थनगर नगरपालिका–३ बुद्धकोलोनीबाट भने रु १ लाख ५० हजार बराबरका बेबी सेट ३०० थान, बेबी भेस्ट ४०० थान तथा फलामका पाँच वटा चेन बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता कृष्णकुमार चन्दका अनुसार बरामद गरिएका सबै सामान सम्बन्धित निकायमा पठाई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय