बीरगन्ज,२६ फागुन । पछिल्लो समय बीरगन्जका विभिन्न टोल–बस्तीमा लामखुटेको संख्या अत्यधिक बढ्न थालेपछि स्थानीय बासिन्दा चिन्तित बनेका छन्। साँझपख र रातिको समयमा लामखुटेको समस्या झन् बढ्दै गएको भन्दै नागरिकले स्वास्थ्य जोखिमको डर व्यक्त गरेका छन्।
स्थानीयका अनुसार लामो समयदेखि टोल–टोलमा लामखुटे नियन्त्रणका लागि औषधि छर्किने काम नियमित रूपमा हुन सकेको छैन। यसका कारण लामखुटेको प्रकोप बढ्दै गएको उनीहरूको भनाइ छ।
लामखुटे बढेसँगै डेंगु, मलेरिया जस्ता रोग फैलिने जोखिम पनि बढ्न सक्ने भएकाले समयमै नियन्त्रणका उपाय अपनाउनुपर्ने स्थानीयको माग छ। उनीहरूले सम्बन्धित निकायले छिटो औषधि छर्किने अभियान सञ्चालन गरी समस्याको समाधान गर्न ध्यान दिनुपर्ने बताएका छन्।
उनीहरूले स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सरोकारवाला निकायले शीघ्र पहल गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

