काठमाडौं,२६ फागुन । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिट संख्या एक घट्ने संकेत देखिएको छ।
आज बिहान सबेरैसम्मको गणनाअनुसार रास्वपाले ५८ सिट प्राप्त गर्ने अनुमान गरिएको थियो। तर बिहान १० बजेसम्मको पछिल्लो अपडेटअनुसार मत अनुपात केही घटेपछि रास्वपाले ५७ सिट मात्र प्राप्त गर्न सक्ने सम्भावना देखिएको हो।
पछिल्लो अपडेटमा रास्वपाको मत अनुपात ४७.९ प्रतिशत मा झरेको छ। बिहान सबेरै यो अनुपात ४८ प्रतिशतभन्दा माथि रहेको थियो। यद्यपि अझै करिब ६ लाख मत गणना हुन बाँकी रहेकाले अन्तिम परिणाममा परिवर्तन आउने सम्भावना रहेको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार हालसम्म १ करोड ४ लाख १९ हजार २३४ सदर मत गणना भइसकेको छ। यसमध्ये रास्वपाले ५० लाख ५२ मत प्राप्त गर्दै अग्रस्थान कायम राखेको छ।
त्यस्तै नेपाली कांग्रेस ले १६ लाख ९२ हजार ७८६, नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले १४ लाख ११ हजार ४२९, नेपाल कम्युनिस्ट पार्टी ले ७ लाख ६६ हजार ८७५ मत प्राप्त गरेका छन्।
यसैगरी श्रम संस्कृति पार्टी ले ३ लाख ५८ हजार ४१५ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २४ हजार ८८१ मत प्राप्त गरेका छन्।
समानुपातिक प्रणालीअन्तर्गत सिट प्राप्त गर्न कुनै पनि दलले कूल सदर मतको कम्तीमा ३ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ। हालसम्म यी ६ दलले मात्र उक्त थ्रेसहोल्ड पार गरेको देखिएको छ।
यस्तै, प्रत्यक्षतर्फ कम्तीमा एक सिट जित्ने मापदण्ड पूरा गरेकाले यी सबै दलले राष्ट्रिय दलको मान्यता समेत प्राप्त गर्ने भएका छन्।

