जनताको मन जित्यौँ, तर मत जित्न सकेनौँ : कुलमान घिसिङ

spot_img

काठमाडौं,२६ फागुन । उज्यालो नेपाल पार्टी का अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो पार्टीले मतमा जित हासिल गर्न नसके पनि जनताको मन जित्न सफल भएको दाबी गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत निर्वाचन परिणामबारे प्रतिक्रिया दिँदै घिसिङले परिवर्तनको अपेक्षासहित भारी जनमत प्राप्त गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुशासन र समृद्धिको आकांक्षा पूरा गर्न शुभकामना दिएका छन्। उनले नयाँ सरकारले गर्ने सकारात्मक काममा समर्थन रहने तर गलत काम भए सडकबाटै रचनात्मक खबरदारी गर्ने पनि स्पष्ट पारेका छन्।

लामो स्टाटसमार्फत उनले देशको प्रशासनिक तथा विकास प्रणालीप्रति आलोचना गर्दै एउटा पुल बनाउन १५ वर्ष लाग्ने र काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने परिपाटीले विकास अवरुद्ध भएको उल्लेख गरेका छन्। उनका अनुसार समस्या घोषणामा होइन, कार्यान्वयनको कमजोरीमा रहेको छ, जसका कारण बजेट खर्च हुन नसक्ने र जनताको अपेक्षा निराशामा परिणत हुने अवस्था देखिएको छ।

घिसिङले विगतमा आफूले गरेका कामहरूको उदाहरण पनि प्रस्तुत गरेका छन्। उनले देशमा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य, ५८ प्रतिशतबाट ९९ प्रतिशत घरधुरीमा विद्युतीकरण विस्तार तथा नेपाललाई विद्युत् आयातकर्ताबाट निर्यातकर्तातर्फ अघि बढाएको उल्लेख गरेका छन्।

यसका साथै विभिन्न जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन समस्या समाधान, मेलम्ची खानेपानी आयोजना सञ्चालन, तातोपानी नाका खुलाउने तथा अलपत्र आयोजनाका ठेक्का तोड्ने जस्ता काम भएको दाबी गरेका छन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन योगदान दिने सरकार, सुरक्षा निकाय र मतदाताप्रति धन्यवाद व्यक्त गर्दै घिसिङले छोटो समयमै जनताबाट प्राप्त माया र सद्भाव आफ्नो लागि ठूलो ऊर्जा भएको बताएका छन्।

निर्वाचन परिणामबाट आफू निराश नभएको बताउँदै उनले “उज्यालो नेपाल निर्माण” को अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले हालैको निर्वाचनलाई जेनजी आन्दोलन पछि आएको परिवर्तनको अवसरका रूपमा समेत व्याख्या गरेका छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय