काठमाडौं,२६ फागुन । प्रतिनिधिसभा निर्वाचनमा स्पष्ट बहुमत नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिनु नपर्ने भएको छ।
निर्वाचनअघि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै मत मागेको थियो। निर्वाचन परिणामले पार्टीलाई स्पष्ट बहुमत दिलाउने निश्चित भएपछि उनी नै सरकारको नेतृत्व गर्ने तयारीमा रहेको बताइएको छ।
नेपालको संविधानको धारा ७६(१) अनुसार कुनै दलले प्रतिनिधिसभामा एकल बहुमत प्राप्त गरी त्यस दलको संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त भएमा विश्वासको मत लिनुपर्ने व्यवस्था छैन। यही प्रावधानअनुसार बालेन प्रधानमन्त्री नियुक्त हुने सम्भावना रहेकोले उनले विश्वासको मत लिनु नपर्ने बताइएको हो।
तर दुई वा सोभन्दा बढी दलको गठबन्धनबाट सरकार बनेको अवस्थामा वा कुनै दलले स्पष्ट बहुमत नल्याई ठूलो दलका रूपमा सरकार गठन गरेको अवस्थामा भने प्रधानमन्त्रीले संसदबाट अनिवार्य रूपमा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ।

