रास्वपाको प्रधानमन्त्री उम्मेदवार बालेन्द्र शाह नै हुन् : सांसद राजु पाण्डे

spot_img

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद राजु पाण्डेले आफ्नो पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार वरिष्ठ नेता बालेन्द्र शाह नै भएको स्पष्ट पारेका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद पाण्डेले प्रधानमन्त्रीको उम्मेदवारबारे बाहिर चलेका हल्लाहरू पूर्ण रूपमा हावादारी र खुरापाती भएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरेका हुन्।

उनले पार्टीको यस निर्णयमा कुनै पनि तहका पदाधिकारीलाई कमा वा फुलस्टप लगाएर दायाँबायाँ कुरा गर्ने छुट नभएको प्रष्ट पारे। रास्वपाले जे बोल्छ त्यही गर्ने दाबी गर्दै उनले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर बोल्ने अधिकार कसैलाई नभएको बताए।

बालेन्द्र शाहलाई प्रधानमन्त्री नबनाउने भित्रभित्रै खेल भइरहेको भन्ने हल्लाबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै पाण्डेले जनताले अब हावादारी कुरा नसहने चेतावनी दिए। त्यस्ता हल्लाहरूलाई उनले सिधै खारेज गर्दै यसमा कुनै सत्यता नभएको दाबी गरे।

यो केवल रास्वपाविरुद्ध गरिएको खुरापाती मात्र भएको उनको भनाइ थियो। उनले यस्ता हावादारी गफको पछि नलाग्न सबैलाई आग्रह गर्दै रास्वपा आफ्नो लक्ष्य र एजेन्डामा सिधा र स्पष्ट रहेको जिकिर गरे।

देशको बिग्रँदो अवस्थाबारे टिप्पणी गर्दै सांसद पाण्डेले राजनीतिक दल र नेताहरूलाई मात्र गाली गरेर समस्याको समाधान नहुने धारणा राखे। देश चलाउने कर्मचारीतन्त्रमा पनि आमूल परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो। राजनीति बाहेकको प्रशासनिक संयन्त्र नसुध्रिएसम्म देश अगाडि बढ्न नसक्ने भन्दै उनले कर्मचारीतन्त्रको कार्यशैली परिवर्तन हुनैपर्नेमा जोड दिए।

यसैगरी, भ्रष्टाचार र सुशासनको सन्दर्भमा रास्वपा निकै कठोर रूपमा प्रस्तुत हुने पाण्डेले चेतावनी दिए। भ्रष्टाचारको विषयमा रास्वपाले निर्मम तरिकाले प्रहार गर्ने उनले घोषणा गरे। भ्रष्टाचारमा जो-जो संलग्न हुन्छन्, ती सबैलाई कारबाहीको दायरामा ल्याउने उनको दाबी थियो। देशलाई अहिले सुशासन चाहिएको उल्लेख गर्दै उनले सरकारी कार्यालयमा जाँदा एउटा साधारण नागरिकले सुशासनको अनुभूति गर्न पाउनुपर्ने बताए। कोही कसैको अनुहार नहेरी सुशासन कायम गर्न रास्वपा पछि नहट्ने उनको भनाइ थियो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय