सर्लाही,२० पुस । सर्लाहीको सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदारको हत्या प्रकरणमा घटनापछि करिब १८ घण्टापछि उनको टाउको फेला परेको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सर्लाही प्रहरीका अनुसार हत्या गरिएका चौकीदार रामेश्वर महतोको टाउको घटनास्थल नजिकैको झाडीमा फालिएको अवस्थामा आज दिउँसो फेला परेको हो। प्रहरी प्रवक्ता डिएसपी सरोज राईले घटनास्थलदेखि करिब १०० मिटर तलतर्फ रहेको झाडीभित्र टाउको भेटिएको जानकारी दिए।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै विशेष प्रहरी टोली तथा तालिमप्राप्त खोजी कुकुर परिचालन गरी खोजतलास गरिएको थियो। सोही क्रममा टाउको फेला परेको डिएसपी राईले बताए। उनका अनुसार चौकीदार महतोको शव भने हिजो साँझ नै फेला परिसकेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको जनाएको छ। घटनामा संलग्न आशंकामा एक जनालाई नियन्त्रणमा लिइएको भए पनि अनुसन्धान जारी रहेकाले थप विवरण हाल सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ।
ईश्वरपुर नगरपालिका–२ अन्तर्गत सागरनाथ वन विकास परियोजनामा कार्यरत चौकीदार महतोको शव हिजो साँझ फेला परेपछि घटनाले जिल्लामा सनसनी मच्चाएको थियो। प्रहरीले घटनालाई गम्भीर अपराधका रूपमा लिँदै अनुसन्धान तीव्र बनाएको जनाएको छ।

