काठमाडौं,२२ पुस – नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगसमक्ष दिएको बयानका प्रमुख अंशहरू सार्वजनिक गरेका छन्।
अध्यक्ष ओलीले आइतबार जाँचबुझ आयोगलाई बयान दिएका थिए। बयान लिन आयोगका पदाधिकारीहरू गुण्डुस्थित ओलीको निवासमै पुगेका थिए।
ओलीले जाँचबुझ आयोगलाई दिएको जवाफका मुख्य छ बुँदा बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
पहिलो : २२ भदौको साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलनलाई शान्तिपूर्ण बनाउने, बल प्रयोग नगर्ने तथा युवा–विद्यार्थीलाई सहजीकरण गर्ने विषयमा छलफल भएको।
दोस्रो : आन्दोलनमा घुसपैठ भएको र अराजक तत्व प्रवेश गरेको कुरा आन्दोलनमा सहभागी युवाहरूले स्वयं स्वीकार गरिसकेको।
तेस्रो : आन्दोलनमा सहभागी अधिकांश व्यक्ति जेन–जी पुस्ताका नभएको कुरा तत्कालीन तस्बिर तथा भिडियो प्रमाणहरूले स्पष्ट पारेको।
चौथो : २३ भदौका दिन तोडफोड र अचानक गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सुरक्षा निकायका सबै प्रमुखहरूसँग परामर्श गरी छानबिन समिति गठन गर्ने निर्णय गरिएको।
पाँचौँ : २४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्ने आवश्यकता भए पनि त्यो सम्भव हुन नसकेको।
छैटौँ : गौरीबहादुर कार्कीले घटनाकै दिन तथा त्यसअघि–पछिका समयमा सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा शंका रहेको।



