spot_img

जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा

spot_img
spot_img

जनकपुर,३० फागुन । प्रतिनिधिसभा निर्वाचनका कारण केही समय रोकिएको कुर्था–जनकपुर–जयनगर रेल सेवा पुनः सञ्चालनमा आएको छ। रेल सेवा सुरु भएसँगै जनकपुरधाम र नेपाल–भारत सीमावर्ती क्षेत्रका सर्वसाधारणहरू लाभान्वित भएका छन्।

रेल विभागले सन् २०१९ मा भारतको सरकारी कम्पनी कोंकन रेल्वे कर्पोरेसनबाट करिब ८४ करोड ६५ लाख रुपैयाँमा रेल खरिद गरेको थियो। पाँच वटा डिब्बा भएको एउटा रेलमा एकैपटक करिब १२ सयदेखि १३ सयसम्म यात्रुले यात्रा गर्न सक्ने क्षमता रहेको छ। हाल सञ्चालनमा रहेका डिपिसि १९०१ र डिपिसि १९०२ नम्बरका डिजेल–इलेक्ट्रिक मल्टिपल युनिट रेलहरू १६ सय हर्सपावर क्षमताका छन्, जुन डिजेल र विद्युत् दुवैबाट सञ्चालन गर्न सकिन्छ।

हाल कुर्था–जनकपुर–जयनगर खण्डमा मात्र सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग विस्तारसँग जोडिएको छ। यस परियोजनाअन्तर्गत सर्लाही खण्डमा करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको आयोजनाको लालबन्दी कार्यालयले जनाएको छ।

यद्यपि केही स्थानमा ट्र्याक निर्माण कार्य अझै बाँकी रहेको छ। सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटानको अनुमति नदिँदा काम प्रभावित भएको बताइएको छ। साथै हरिवन नगरपालिका–५ घुर्कौली क्षेत्रका केही किसानले मुआब्जा लिन अस्वीकार गर्दै जग्गाको मूल्यांकन बढाउन माग गरेपछि त्यस क्षेत्रमा काम अघि बढ्न सकेको छैन।

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग सञ्चालनको योजना प्रत्येक निर्वाचनमा राजनीतिक दलहरूको घोषणापत्रमा समावेश हुँदै आएको छ। यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफ्नो वाचा पत्रमा विस्तृत अध्ययनका आधारमा रेलमार्ग विस्तारको ५० वर्षे गुरुयोजना तयार पार्ने उल्लेख गरेको छ। सो योजनाअनुसार रेलमार्गलाई काठमाडौँ, पोखरा, दाङ, सुर्खेत र तराईका प्रमुख सहरहरूसम्म विस्तार गरी भारत र चीनको रेल सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय