काठमाडौँ,११ असार । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विभिन्न तहबाट उठेका प्रश्न र गुनासोको छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले विशेष समिति गठन गरिएको जानकारी दिएका छन्।
मन्त्री पोखरेलका अनुसार उत्तरपुस्तिकाको स्याम्पलिङ परीक्षण, परीक्षाङ्कको शुद्धता तथा डेटा इन्ट्री प्रक्रियाको भेरिफिकेसन गर्न समिति गठन गरिएको हो। समितिमा शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवस्तरका प्रतिनिधिहरू समावेश छन्।
राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजालाई लिएर सामाजिक सञ्जालमा विभिन्न टिप्पणी र आलोचना भइरहेका बेला मन्त्री पोखरेलले नतिजा प्रक्रिया पारदर्शी, स्पष्ट र विश्वसनीय रहेको दाबी गरेका छन्। आवश्यक जनशक्ति परिचालन तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउँदै समयमै नतिजा प्रकाशन गरिएको उनको भनाइ छ।
उनले नतिजा प्रकाशनमा कुनै हतारो नगरिएको स्पष्ट पार्दै नियमित प्रक्रिया अनुसार नै परिणाम सार्वजनिक गरिएको बताएका छन्। यद्यपि उठेका जिज्ञासा र आशंकालाई सम्बोधन गर्न थप परीक्षण तथा भेरिफिकेसनको व्यवस्था गरिएको उनले उल्लेख गरेका छन्।
मन्त्री पोखरेलले नतिजाको विषयलाई लिएर शान्तिपूर्ण रूपमा आफ्नो धारणा राखिरहेका विद्यार्थी तथा समूहप्रति सम्मानजनक व्यवहार गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा गालीगलौज, दुर्व्यवहार वा अपमानजनक टिप्पणी नगर्न पनि उनले सबैलाई अनुरोध गरेका छन्।




