वीरगन्ज,०५ चैत । नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखाको आयोजनामा “ग्लोबल मनी वीक २०२६ (GMW 2026)” को अवसरमा प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। “Smart Money Talk, Open Up, Start to Talk, Grow with Financial Knowledge” भन्ने नारासहित आयोजित उक्त कार्यक्रमले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।
प्रभातफेरी वीरगन्ज स्थित नेपाल राष्ट्र बैंकको शाखाबाट सुरु भई मकालु चौक हुँदै शहरका विभिन्न मुख्य मार्गहरूको परिक्रमा गर्दै घण्टाघर मा पुगेर समापन गरिएको थियो। कार्यक्रममा विभिन्न विकास बैंक, फाइनान्स कम्पनी तथा वाणिज्य बैंकका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सहभागीहरूले हातमा ब्यानर तथा प्लेकार्ड बोकेर वित्तीय ज्ञानको महत्वबारे जनचेतना फैलाउने सन्देश दिएका थिए। बचतको बानी विकास, सुरक्षित लगानी, डिजिटल बैंकिङको प्रयोग तथा जिम्मेवार वित्तीय व्यवहार अपनाउन सर्वसाधारणलाई प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाका शाखा प्रमुख सुशील पौडेलको नेतृत्वमा सम्पन्न उक्त प्रभातफेरी कार्यक्रमले वित्तीय साक्षरता विस्तारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। साथै, यस्ता कार्यक्रमहरूले समुदायमा आर्थिक चेतना अभिवृद्धि गर्दै दीगो आर्थिक विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।




