बीरगन्ज,२० चैत । देशभर हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा मौसममा परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखा का अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा बादल लागेको छ भने अन्य भागमा आंशिक बदली रहेको छ।
महाशाखाले आज दिउँसो अधिकांश प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने जनाएको छ। विशेषगरी गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा अन्य प्रदेशका पहाडी र हिमाली भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
यससँगै तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।
आज राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने अन्य स्थानमा आंशिक बदली रहने पूर्वानुमान छ। केही क्षेत्रमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।
महाशाखाले विशेषगरी तराई क्षेत्रका बासिन्दालाई हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन र नियमित मौसम सूचना अपडेट लिन आग्रह गरेको छ।




